एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका स्टार नेयमारमाथि युरोपियन फुटबलमा लागेको तीन खेलको प्रतिबन्ध यथावत रहने भएको छ ।
युरोपेली फुटबल महासंघ युईएफएले नेयमार माथि लागेको तीन खेलको प्रतिबन्धको अपिललाई अस्विकार गरिदिएको छ ।
२७ बर्षका पीएसजी फरवार्डले च्याम्पियन्स लिगको दौरान खेल अफिसियलविरुद्व अभद्र टिप्पणी गरेका थिए । उनले घरेलु मैदानमा मार्च ६ मा म्यानचेष्टर युनाईटेडसंग पराजित भएपछि म्याच अफिसियलको बिषयमा नकारात्मक प्रतिक्रिया दिएका थिए ।
उनले दोस्रो लेगको अन्तिम १६ को खेलको अन्तिम समयमा दिएको पेनाल्टीलाई अपमानको रुपमा ब्याख्या गरेका थिए ।
उनले ईन्स्टाग्राममा पोस्ट गर्दै पेनाल्टी मान्य नहुने बताएका थिए ।
अब नेयमारले च्याम्पियन्स लिगको समुह चरणको आधा खेल गुमाउनेछन् ।
उनले चोटका कारण च्याम्पियन्स लिगको दुवै लेगको खेल गुमाएका थिए । नकआउट चरणको खेलमा मार्कोस रसफोर्डको पेनाल्टी गोलमा म्यान युनाईटेडले जित निकालेको थियो ।
रेफ्री दामिर स्कोमिनाले डियागो डालोटको प्रहारको भिडियो फुटेज हेरेका थिए । जसमा पीएसजीका डिफेन्डर प्रिसेल किम्पेम्बेको हातमा लागेको थियो ।
युनाईटेडले पेनाल्टीसंगै पेरिसमा ३–१ को जित दर्ता गर्दै समग्रमा ३–३ को नतिजा सहित अवे खेलका आधारमा क्वार्टरफाईनल प्रवेश गरेको थियो । पहिलो लेगको खेलमा पीएसजी २–० ले अघि थियो ।
लगत्तै नेयमारले लेखेका थिए, ‘यो अपमान हो । चार मानिस जसले फुटबलको बिषयमा केही जान्दैनन् । उनीहरु टेलिभिजनको अगाडी रिप्ले हेर्छन् ।’
युईएफएको पछिल्लो निर्णयसंगै नेयमारले आगामी सिजनको च्याम्पियन्स लिगको सुरुवाती तीन खेल गुमाउनेछन् ।