एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करणको उद्घाटन खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रीकालाई ३ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
द ओभल मैदानमा पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्डले ८ विकेट गुमाउंदै ३ सय ११ रन बनायो ।
इंग्ल्याण्डको उच्च स्कोरमा ४ खेलाडीले अर्धशतक बनाए । ओपनर जोन्नी बेस्ट्रो खेलको दोस्रो बलमा गोल्डेन डक आउट भएपनी जासन रोय र जोय रुटले अर्धशतकीय इनिङ्स खेल्दै इंग्ल्याण्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
दोस्रो विकेटको रुपमा आउट भएका रोयले ५४ रनको इनिङ्स खेल्दा रुटले ५१ रन बनाए ।
यस्तै अलराउण्डर बेन स्टोक्सले ९ चौका प्रहार गर्दै ८९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान इयान मोर्गनले ३ छक्का र ४ चौकाको मद्दतले ५७ रन बनाए ।
त्यस्तै जाेस बट्लर १८, क्रिस वोक्स १३, मोइन अली ३, लाइम प्लङकेटले ९ रन बनाउँदा जोफ्रा आर्चरले ७ रनको योगदान गरे ।
दक्षिण अफ्रीकाका लुंगी नेग्दीले ३ विकेट हात पारे । यस्तै इमरान ताहिर र कागीसो राबाडाले समान २/२ विकेट हात पारे ।
११ औं संस्करणको विश्वकप सकिदाँ दुवै टोलीले एकदिवसीय विश्वकप जित्न सकेका छैनन् । यद्दपि इंग्ल्याण्डले ३ पटक फाइनल खेलिसकेको छ ।
दक्षिण अफ्रिकाले भने फाइनल यात्रा तय गर्न सकेको छैन । गत संस्करणको विश्वकपमा इंग्ल्याण्ड समूह चरणबाटै बाहिरिएको थियो भने अफ्रिका सेमिफाइनलमा अभागी साबित भएको थियो ।
घरेलु मैदान द ओभलमा इंग्ल्याण्डले सन् २०१५ देखि कुनै एकदिवसीय खेल हारेको छैन । इंग्ल्याण्ड जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछन् ।
यता, दक्षिण अफ्रीका पहिलो खेलमा बलियो इंग्ल्याण्डलाई हराएर विश्वकप यात्रा तय गर्न चाहन्छ ।
आईसीसी एकदिवसीय वरियताको शीर्ष स्थानको इंग्ल्याण्ड तथा दक्षिण अफ्रीका तेस्रो स्थानमा रहेको छ ।