एजेन्सी । अष्ट्रेलियाका महिला अम्पायर क्लेरी पोलोसाक पुरुषको एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अम्पायर गर्ने पहिलो महिला अम्पायर बनेकी छिन् ।
विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत ओमान र नामिबियाबीच जारी फाइनलमा अम्पायरको भूमिका निर्वाह गर्दै पोलोसाकले इतिहास बनाएकी हुन् । यसअघि कुनैपनि महिला अम्पायरले पुरुषको एकदिवसीय क्रिकेटको अम्पाएरिङ गरेका थिएनन् ।
'पुरुष एक दिवसीय खेलमा पहिलो महिलाको रुपमा अम्पाएरिङ गर्न म सारै उत्साहित छु,' क्लेरीले भनिन्, 'महिला अम्पाएरले पनि पुरुष क्रिकेटको अम्पाएरिङ गर्न सक्छन भन्ने कुरामा कुनै आशंका छैन र यसलाई प्राथमिकतामा ल्याउनु महत्वपूर्ण पनि छ । यो एक खुड्किलो पार गर्नु जस्तै हो र धेरै महिलाको लागि प्रेरणा हुनेछ ।'
३१ बर्षे क्लेरीले हालसम्म १५ महिला एकदिवसीय खेलमा अम्पाएरिङ गरिसकेकी छिन् । सन् २०१६ मा पहिलो पटक अस्ट्रेलिया र दक्षिण अफ्रिका बिचको खेलमा पहिलो पटक अम्पाएरिङ गरेकी थिएन । त्यसपछि उनले आईसीसीको बिभिन्न खेलहरुमा अम्पाएरिङ गर्दै आएकी छिन् ।
सन् २०१८ को महिला टी-ट्वान्टी विश्वकपको सेमिफाइनल खेलमा तथा सन् २०१७ को महिला विश्वकपको ४ खेलमा समेत अम्पाएरिङको अनुभव लिन सफल भैसकेकी छिन् ।
सन् २०१७ को अष्ट्रेलियाको लिस्ट 'ए' पुरुष क्रिकेटमा क्लेरीले अम्पाएरिङ गर्दै पुरुष क्रिकेटमा अम्पाएरिङ गर्ने पहिलो महिलाको रेकर्ड राखेकी थिइन् ।