'दक्षिण अफ्रिका मैले रुचाउने टिम हैन'

एजेन्सी । सन् २०१९ को विश्वकप सुरु हुन करिब ३ महिनाको समय बाँकी रहेको छ । र, अधिकांस राष्ट्रले विश्वकपको तयारी अन्तिम चरणमा पुर्र्याएको छ ।
विश्वकप खेल्ने राष्ट्रहरु विश्वकप टिम सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । विश्वकप आगामी मे ३० बाट इंग्ल्याण्ड र वेल्समा सुरु हुनेछ ।
करिब ४५ दिन चल्ने विश्वकप निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । यति बेला क्रिकेट पण्डितहरुले आफ्नो देश र खेलाडीको सम्भावना चर्चा गर्न थालिसकेका छन् ।
दक्षिण अफ्रिकाका पुर्व खेलाडी एबी डि भिलियर्सले पनि विश्वकपबारे बोलेका छन् । डि भिलियर्सले यस पटकको विश्वकपमा दक्षिण अफ्रीका आफुले रुचाएको टोलीमा नपर्ने बताएका छन् ।
'मलाई दक्षिण अफ्रिकाले आउँदो विश्वकपमा राम्रो गर्न सक्ने विश्वास छ । किनकि हामी विश्वका राम्रो टोली मध्ये एक हौं,' विश्वकपबारे डि भिलियर्सले भने, 'तर, इमान्दारपुर्वक भन्नु पर्दा दक्षिण अफ्रिका विश्वकपमा मेरो मनपर्ने टिम हैन ।'
दक्षिण अफ्रीकाबाट तीन पटक विश्वकप खेलेका पुर्व स्टार डि भिलियर्सले आफ्नो रोजाईको टिममा भारत, इंग्ल्यान्ड, अष्ट्रेलिया र पाकिस्तानलाई राखेका छन् ।
'भारत र इंग्ल्यान्ड निकै बलिया छन् । अष्ट्रेलिया ५ पटकको विश्वकप विजेता हो र पाकिस्तानले २ वर्ष अघि भएको च्याम्पियन्स ट्रफी उचालेको थियो । र, यी देशहरु नै सायद मेरो मन पर्ने टिम हुनेछ,' डि भिलियर्सले भने ।
गत वर्ष अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका ३५ वर्षे डि भिलियर्सले लगातार तीन पटक सन् २००७, २०११ र २०१५ को विश्वकप खेलेका थिए ।
'विश्वकप एक निकै प्रतिस्पर्धात्मक प्रतियोगिता हो । मैले ३ पटक खेलेको छु र यो कहिल्यै सजिलो थिएन,' डि भिलियर्सले थपे, 'तपाईलाई सधै आफ्नो टिम निकै बलियो लाग्छ । तर, जब प्रतियोगिता सुरु हुन्छ अनि थाहा पाउनु हुन्छ कि त्यहाँ उपाधि जित्ने लक्ष्य सहित विभिन्न राष्ट्र सहभागी भएका छन् र उनीहरुमा क्षमता पनि हुन्छ ।'
डि भिलियर्स विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीको पाँचौ स्थानमा रहेका छन् । दाँया हाते ब्याट्सम्यान डि भिलियर्सले विश्वकपको २३ खेलमा १ हजार २०७ रन बनाएका छन् । उनले ४ शतक र ६ अर्धशतक प्रहार गरेका छन् ।
गत संस्करणको विश्वकपमा वेष्ट इण्डिजविरुद्ध अविजित रहदै बनाएको १६२ रन डि भिलियर्सको विश्वकपको उच्च स्कोर हो ।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)

