काठमाडौं । तिलोत्तमा गोल्डकप नकआउट फुुटबल प्रतियोगितामा आज (बुधबार) झापा ११ र क्यामरुनको दाउफिन्स फेमिली प्रतिस्पर्धा गर्दैछन् । एन्फा एकेडेमी बुटबलमा हुने अन्तिम क्वाटरफाइनल खेल दिउँसो साँढे २ बजे सुरु हुनेछ ।
दुबै टोली जित निकाल्दै सेमिफाईनल पुग्न चाहन्छन् । विदेशी क्लब दाउफिन्स मनकामना केवलकार पोखरा कप र बुढासुब्बा गोल्डकपको विजेता हो । झापा एघारले फिदिम गोल्डकपको जितेको थियो ।
दाउफिन्सले प्रतियोगितामा बाई पाएर क्वाटरफाइनल खेल्न लागेको हो । झापाले भने प्रिक्वाटरफाइनलमा विभागीय एपिएफलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
आजको विजेताले फाइनल प्रवेशका लागि १० गते आयोजक लाली रुपन्देहीसँग खेल्नेछ । मंगलबार भएको खेलमा पुलिस क्लब विजयी हुँदै सेमिफाइनल पुगिसकेको छ ।
प्रतियोगिताको विजेताले ८ लाख ८० हजार पाउनेछ । यस्तै उपविजेता टिमले ५ लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।