भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

काठमाडौं। रणजी ट्रफी खेलिसकेका क्रिकेटर नरेन्द्र कुमार नेपाली क्रिकेटरलाई प्रशिक्षण दिन नेपाल आउने भएका छन्।
आईसीसीको ‘लेभल वान’का प्रशिक्षक रहेका उनी नेपालका क्रिकेटरलाई प्रशिक्षण दिन नेपाल आउन लागेका हुन्।
उनी अहिले दिल्लीको द्रोणाचार्य क्रिकेट एकेडेमीका मुख्य प्रशिक्षक छन्। उनलाई नेपालको काठमाडौं क्रिकेट एकेडेमीले नेपाली क्रिकेटरलाई प्रशिक्षण दिन नेपाल ल्याउन लागेको हो। उनले १५ दिन नेपाल बसेर इच्छुक नेपाली क्रिकेटरलाई प्रशिक्षण दिने केसीएका प्रमुख मदन कार्कीले जानकारी दिए।
एकेडेमीले यस अगाडि पनि उनलाई नेपाल बोलाएर एकेडेमीका खेलाडीसँगै इच्छुक अन्य क्रिकेटरलाई प्रशिक्षण दिइएको थियो। नेपाली खेलाडीको स्तर बढाउन १५ दिनका लागि उनलाई पुन: नेपाल बोलाएको कार्कीले जानकारी दिए।
‘विद्यालयको अन्तिम परीक्षा पनि सकिँदै छ। यो बेलामा प्रशिक्षणमा रहेका क्रिकेटरलाई विश्वस्तरीय प्रशिक्षण दिन हामीले नरेन्द्र कुमारलाई नेपाल ल्याउन लागेका हौं,’ उनले भने।
१५ दिनको नेपाल बसाइमा उनले बलिङ, ब्याटिङलगायतका क्षेत्रमा विशेष प्रशिक्षण दिने कार्कीले जानकारी दिए। प्रशिक्षण केसीएको बालुवाखानीमा रहेको प्रशिक्षण केन्द्रमा अप्रिल ९ बाट सुरु हुने उनले जानकारी दिए।











-1774856466345.webp&w=3840&q=75)
