जितविहीन नेपाल

काठमाडौं। नेपाल जितविहीन रहँदै महिला एसिया कप राइजिङ स्टार्सबाट बाहिरिइएको छ।
मंगलबार सम्पन्न समूह ‘ए’ को खेलमा भारत ‘ए’ महिला टोलीले नेपाललाई ७ विकेटले पराजित गरेको हो।
बैंककमा भएको खेलमा ७९ रनको सामान्य लक्ष्य पछ्याएको भारत ‘ए’ ले ७.५ ओभरमै ३ विकेट गुमाएर ८२ रन बनाउँदै ७३ बल बाँकी छँदै सहज जित निकाल्यो।
जितसँगै भारत ‘ए’ ले तीन खेलबाट ४ अंक पुर्यायो। नेपाल भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो।
टोली पाकिस्तान ‘ए’सँग ३० र युएईसँग १८ रनले पराजित भएको थियो।
भारत ‘ए’ ले सुरुआतदेखि नै आक्रामक ब्याटिङ गर्यो। दिनेश वृन्दाले १८ बलमा ३९ रन बनाउँदै टोलीलाई जितनजिक पुर्याइन्। तेजल हसब्निसले १३ बलमा १८ रन थपिन् भने अनुष्का शर्माले १० रन बनाइन्। कप्तान राधा यादव १ रनमा अविजित रहिन्।
नेपालका मनिषा उपाध्याय, अनु कडायत र सीता रानामगरले समान १/१ विकेट लिए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।
पहिले ब्याटिङ गरेको नेपाल १८ ओभरमा ७८ रनमै अलआउट भयो। सम्झना खड्काले १६ बलमा २२ रन बनाउँदै आक्रामक सुरुआत दिलाइन्। बिन्दु रावलले २१ बलमा ११ रन जोडिन् भने कप्तान पूजा महतोले १४ बलमा १० रन बनाइन्।
अन्त्यतिर कविता जोशी १७ बलमा १२ रन बनाउँदै अविजित रहिन्। नेपाललाई सस्तोमै समेट्न भारत ‘ए’ की तानुजा कँवरले उत्कृष्ट बलिङ गरिन्। उनले ४ ओभरमा १२ रन मात्र खर्चेर ४ विकेट लिइन् र ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। मिन्नु मणिले ४ ओभरमा ८ रन दिएर ३ विकेट झारिन् भने राधा यादवले २ विकेट लिइन्।









-1771251202949.avif&w=3840&q=75)


