साग अर्को वर्ष पाकिस्तानमा आयोजना हुने

काठमाडौं। दक्षिण एसियाली खेलकुद (साग) अर्को वर्ष पाकिस्तानमा आयोजना हुने भएको छ। प्रतियोगिताको १४औं संस्करण आगामी वर्ष २०२७ को मार्च २३ तारिखदेखि सुरु भई मार्च ३१ तारिखसम्म सञ्चालन हुनेछ।
उज्बेकिस्तानको राजधानी तास्कन्दमा सम्पन्न दक्षिण एसियाली फेडेरेसनको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा पाकिस्तान ओलम्पिक संघले निर्धारित समयावधिभित्र खेलकुद सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। आवश्यक परे सञ्चालन वा व्यवस्थापकीय कारणले एक सातासम्मको समय बढाउन सकिने सहमति पनि भएको छ।
उक्त बैठक ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को ४६औं साधारण सभासँगै तास्कन्दमा आयोजना गरिएको थियो।
दक्षिण एसियाली खेलकुदमा दक्षिण एसियाका विभिन्न देशहरूको सहभागिता रहने गर्दछ। प्रतियोगितामा एथलेटिक्स, पौडी, ब्याडमिन्टन, बेसबल, बास्केटबललगायत विभिन्न खेल समावेश गरिनेछ।
दक्षिण एसियाली खेलकुदको पहिलो संस्करण सन् १९८४ मा नेपालमा आयोजना गरिएको थियो। पछिल्लो पटक सन् २०१९ मा यो प्रतियोगिता सम्पन्न भएको थियो। त्यसयता करिब सात वर्षसम्म दक्षिण एसियाली खेलकुद आयोजना हुन सकेको थिएन।
















