रोनाल्डोको गोल व्यर्थ, अल–हिलालसँग नासरको ठूलो हार

काठमाडौं। पछिल्लो वर्ष उत्कृष्ट बिताए पनि २०२६ को सुरुआत क्रिस्टियानो रोनाल्डो र उनको टोली अल–नासरका लागि सुखद् रहेन।
चालू वर्ष खेलेका तीनवटै खेलमा हार बेहोरेको अल–नासर सोमबार साउदी प्रो लिगको बहुप्रतिक्षित भिडन्तमा अल–हिलालसँग ३–१ ले पराजित भयो।
खेलको ४२औं मिनेटमा रोनाल्डोले भलीमार्फत गोल गर्दै अल–नासरलाई अग्रता दिलाएका थिए। बायाँ पक्षबाट किङ्स्ले कोमानले बनाएको अवसरलाई उनले गोलमा परिणत गरे। तर, दोस्रो हाफमा खेल पूर्णतः बदलियो।
मोहम्मद सिमाकानले माल्कमलाई फाउल गरेपछि अल–हिलालले पेनाल्टी पायो। त्यसलाई सालेम अल–दावसारीले गोलमा बदले। गोलपछि बल छिटो सेन्टरमा लैजाने क्रममा अल– हिलालका रुबेन नेभेस र अल नासरका गोलरक्षक नवाफ अल–अकिदीबीच विवाद भयो।
भीएआर समीक्षा पछि हिंसात्मक व्यवहारको आरोपमा अल–अकिदीले रातो कार्ड पाए। त्योसँगै अल–नासर १० खेलाडीमा सीमित भयो। त्यसपछि खेल पूर्ण रूपमा अल–हिलालको नियन्त्रणमा गयो। ८१औं मिनेटमा मोहम्मद कान्नोले गोल गरे भने इन्जुरी समयमा दोस्रो पेनाल्टीबाट रुबेन नेभेसले गोल गर्दै जित सुनिश्चित गरे।
यो जितसँगै लिग तालिकाको शीर्ष स्थानमा रहेको अल–हिलालले दोस्रो स्थानको अल–नासरमाथि सात अंकको अग्रता बनाएको छ। अल–नासर भने लगातार चार खेलमा जितविहीन रहँदै तालिकाको दोस्रो स्थानमै छ। सन् २०२१ यता यो उनीहरूको सबैभन्दा लामो जितविहीन क्रम हो।













