एमबाप्पेको व्यवहारको आलोचनामा बार्सिलोनाका अध्यक्ष लापोर्टा

काठमाडौं। स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग पराजित हुँदै रियल मड्रिडले उपाधि गुमाएको छ।
सो खेलमा रियलका स्टार खेलाडी किलियन एमबाप्पेलाई अन्तिम समयमा मैदानमा उतारिएको भए पनि उनले टोलीको भाग्य बदल्न सकेनन्। तर, खेलपछि भएको एउटा घटनाका कारण एमबाप्पे आलोचनाको केन्द्रमा परेका छन्।
स्पेनिस पत्रकार आल्फ्रेडो मार्टिनेजका अनुसार सुपर कप फाइनलमा हार बेहोरेपछि बार्सिलोनालाई ‘गार्ड अफ अनर’ नदिन एमबाप्पेले रियलका खेलाडीहरूलाई निर्देशन दिएका थिए। रेफ्रीको अन्तिम सिटी बज्नासाथ रियलका खेलाडीहरू सिधै बेञ्चतर्फ लागेका थिए।
त्यसपछि मुख्य प्रशिक्षक जाभी अलोन्सोले खेलाडीहरूलाई ‘गार्ड अफ अनर’ अनिवार्य नभएको जानकारी गराएका थिए। तर, मार्टिनेजको दाबी अनुसार एमबाप्पेले नै सहकर्मी खेलाडीहरूलाई डगआउटतर्फ लैजान अग्रसर भूमिका खेलेका थिए।
टेलिभिजन क्यामेरामा १० नम्बर जर्सीधारी एमबाप्पे असन्तुष्टि व्यक्त गरिरहेको देखिन्छ। साथै, ‘गार्ड अफ अनर’मा सहभागी हुन इच्छुक देखिएका राउल आसेन्सियोतर्फ हेर्दै उनले अर्का एक खेलाडीलाई अस्वभाविक तरिकाले केही कुरा गरेको पनि क्यामेरामा कैद भएको थियो।
यस घटनापछि बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन्। रेडियो स्टेशन आरएसी–वानसँग कुरा गर्दै लापोर्टाले भने,‘उनको व्यवहार देखेर म अचम्मित भएँ। जित वा हार दुवै अवस्थामा उदारता र सम्मान देखिनुपर्छ। यो एउटा खेल हो, यहाँ स्वाभाविक र सभ्य व्यवहार अपेक्षित हुन्छ। हामी जित्दा पनि उदार भयौं र प्रतिद्वन्द्वीप्रति सम्मान देखायौं। त्यसैले यो घटना मलाई बुझिन।’
एमबाप्पेको यस्तो व्यवहारले धेरैलाई चकित पारेको छ। कतिपय रियल समर्थकहरूले समेत यस घटनालाई अप्रिय मानेका छन्।







-1768190196463.webp&w=3840&q=75)





