९२ वर्षको इतिहासमै एफए कपमा सिटीको सबैभन्दा ठूलो जित

काठमाडौं। इङ्लिस जायन्ट म्यानचेस्टर सिटीको आक्रमण सामु तेस्रो डिभिजनको टोली एक्सेटर सिटी पूर्ण विक्षिप्त भएको छ।
एफए कपको तेस्रो चरणमा सिटीले एक्सेटरलाई १०–१ गोलले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्यो। तर, यति ठूलो जितको खेलमा पनि स्टार स्ट्राइकर एर्लिङ हालान्डले गोल गर्न सकेनन्।
शनिबार राति भएको यस खेलमा सिटीले एफए कपको इतिहासमा आफ्नो तेस्रो सबैभन्दा ठूलो गोल अन्तरको जित हासिल गर्यो। पेप ग्वार्डियोलाको प्रशिक्षण करिअरमा कुनै प्रतिस्पर्धात्मक खेलमा १० वा सोभन्दा बढी गोल गरेको यो पहिलोपल्ट हो।
तर, रोचक कुरा के छ भने यो ऐतिहासिक खेलमा ग्वार्डियोला आफैं डगआउटमा उपस्थित थिएनन्। ब्राइटनविरुद्धको खेलमा टचलाइनमा असंयमित व्यवहारका कारण पहेँलो कार्ड पाएका थिए। ग्वार्डियोला चालु सिजनमा घरेलु प्रतियोगितामा तेस्रो पहेँलो कार्डका कारण एक खेलको प्रतिबन्धमा परे। त्यसैले उनले एक्सेटरविरुद्धको खेल ग्यालरीबाट हेरे।
यस जितसँगै सिटीले अर्को दुर्लभ कीर्तिमान पनि बनाएको छ। सन् १९८६ पछि पहिलो पटक कुनै इङ्लिस शीर्ष लिगको टोलीले सबै प्रतियोगिता मिलाएर एक खेलमा १० वा बढी गोल गरेको छ।
पछिल्लो पटक लिभरपुलले १९८६ मा लिग कपमा फुलह्यामलाई १०–० ले हराएको थियो। एफए कपमा भने सन् १९६० पछि पहिलो पटक यस्तो भएको हो। यसअघि टोटनह्याम हट्सपरले क्रुलाई १३–२ ले हराएको थियो।
खेलको अन्त्यतिर एक्सेटरले सान्त्वनास्वरूप एक गोल फर्काएपछि सिटीले एफए कपमा आफ्नै सर्वाधिक ९ गोलको अन्तरको रेकर्ड तोड्न सकेन।
यद्यपि, ९२ वर्षपछि पहिलो पटक सिटी फेरि ९ गोलको अन्तरको जितको नजिक पुगेको छ। यसअघि १९३२–३३ सिजनमा उनीहरूले यति ठूलो जित हासिल गरेका थिए।
यस खेलसँगै सिटीले लगातार ११औं पटक एफए कपको तेस्रो चरणमा तीन वा सोभन्दा बढी गोलको अन्तरमा जित निकाल्ने रेकर्ड पनि कायम राखेको छ।
२०१४–१५ सिजनपछि उनीहरूले तेस्रो चरणमा तीन गोलभन्दा कम अन्तरको जित निकालेका छैनन्।
व्यक्तिगत उपलब्धिका हिसाबले पनि केही खेलाडीका लागि यो स्मरणीय दिन रह्यो। डेब्यु खेलमै इतिहादमा गोल गर्दै एन्टोइन सेमेनीयोलाई सम्झनलायक सुरुआत मिल्यो।
उनको ब्लक भएको सटबाट रोड्रीले गोल गरे। अनायासै भए पनि असिस्ट सेमेनीयोकै नाममा गयो। तथ्यांक अनुसार चालु सिजनमा सेमेनीयोले तीन फरक खेलमा गोल र असिस्ट दुवै गरेका छन्, जुन प्रिमियर लिगका खेलाडीमध्ये सर्वाधिक हो।
सात पटक एफए कप जितिसकेको सिटीले पहिलो हाफमै एक्सेटरका दुई आत्मघाती गोलको फाइदा उठायो। रायन म्याकएडु र म्याक्स एलेनले गोल गरेपछि चालु सिजनमा सबै प्रतियोगिता मिलाएर सिटीका लागि गोल गर्ने खेलाडीको संख्या १८ पुगेको छ।
विशेषगरी डेब्यु खेलमै गोल गर्दै म्याकएडुले आफूलाई यादगार बनाए। तर, यति ठूलो जितको बाबजुद हालान्ड भने गोल गर्न असफल रहे।













