ओलम्पिकको बाटोमा एन्फा

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनलाई बेवास्ता गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्वाचन प्रकृयालाई अघि बढाएको छ।
खेलकुदको कार्यकारी निकाय राखेपको निर्देशनलाई उल्लंघन गर्दै निर्वाचन गर्ने नेपाल ओलम्पिक कमिटीको बाटोमा एन्फासमेत अग्रसर भएको छ।
एन्फाले माघ १८ गते झापामा एन्फाको निर्वाचित साधारण सभा गर्ने घोषणा गरेर राखेपसँग स्वीकृति माग गरेको थियो। राखेपले विधान संशोधनको बुँदासहित तहगत निर्वाचन गरेर मात्र केन्द्रीय साधारण सभा गर्न एन्फालाई निर्देशन दिएको थियो।
राखेपको उक्त निर्देशनलाई अवज्ञा गर्दै शुक्रबार एन्फाको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। विगत तीन वर्षदेखि ‘ए’ डिभिजन लिग गर्न नसकेको एन्फाको वर्तमान कार्यसमितिले ‘अर्ली इलेक्सन’मार्फत नयाँ नेतृत्व चयन गर्ने घोषणा गरेको थियो।
तर, जिल्ला र क्लबका पुरानै मताधिकार प्राप्त प्रतिनिधि ल्याएर केन्द्रिय निर्वाचन गर्ने वर्तमान नेतृत्वको तयारी छ। राखेपले तहगत रुपमा जिल्ला, प्रदेश, क्लबहरुको साधारण सभा गरेर केन्द्रीय निर्वाचन गर्न एन्फालाई निर्देशन दिएको छ।
तर, राखेपको निर्देशनलाई लत्याउँदै साधारण सभा गर्ने गरी एन्फा नेतृत्व अघि बढेको छ।













