कार्लोसको मुटुको शल्यक्रिया

काठमाडौं। ब्राजिल र रियल मड्रिडका पूर्वस्टार डिफेन्डर रोबर्टो कार्लोस मुटुको शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
ब्राजिलस्थित भिला नोभा स्टार अस्पतालले शुक्रबार उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै डिस्चार्ज गरिएको पुष्टि गरेको हो। अस्पतालले यसबारे थप विवरण भने सार्वजनिक गरेको छैन।
५२ वर्षीय कार्लोसमा सोमबार मुटुको धमनीमा अवरोध देखिएको थियो। चिकित्सकको सल्लाहअनुसार सोही दिन उनको ‘कोरोनरी एन्जियोप्लास्टी’ गरिएको थियो। यो प्रक्रिया न्यून आक्रामक शल्यक्रिया मानिन्छ, जसअन्तर्गत अवरुद्ध वा साँघुरो मुटुको धमनी फराकिलो बनाइन्छ।
चिकित्सकीय मापदण्डअनुसार शल्यक्रियापछि उनलाई प्रारम्भिक चरणमा सघन उपचार कक्ष (आईसीयू)मा राखिएको थियो। फुटबल इतिहासकै सबैभन्दा आक्रामक बायाँ डिफेन्डरमध्ये एक मानिने कार्लोसले ब्राजिलका लागि १२५ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
उनले रियलमा ११ वर्ष बिताउँदै क्लबका लागि उल्लेखनीय सफलता हासिल गरे। उनले ब्राजिललाई १९९८ को विश्वकप फाइनल पुर्याउन तथा २००२ को विश्वकप जित्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।
साथै, उनले १९९७ र १९९९ को कोपा अमेरिका उपाधि पनि जितेका छन्। कार्लोसको स्वास्थ्यमा सुधार आएपछि फुटबल समर्थकहरूले राहत महसुस गरेका छन्।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


