केटिएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने
-1767006224106.jpeg&w=3840&q=75)
काठमाडौं। खेलकुद एपरेल ब्रान्ड केटिएम सिटीले क्लब फुटबलहरूको साझा संस्था नेपाल फुटबल क्लब एसोसिएसन (एनएफसीए)लाई खेल सामग्री प्रायोजन गर्ने भएको छ।
उक्त प्रायोजनसम्बन्धी सम्झौता पत्रमा सोमबार एसोसिएसनका महासचिव उपेन्द्रमान सिंह र केटिएम सिटीका सिइओ सबिन महतोले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार केटिएम सिटीले एसोसिएसनमा आबद्ध ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका क्लबलाई आफ्नो उत्पादनमा ५० प्रतिशत छुट दिनेछ।
तीन वर्षका लागि भएको सम्झौतामा क्लबहरूले केटिएम सिटीका जर्सी, ट्र्याक सुट, मोजा, ज्याकेटलगायतका सामग्री खरिदमा छुट पाउनेछन्।
हाल एसोसिएसनमा ३० वटा क्लब आबद्ध रहेको एसोसिएसनका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए। अहिले क्लब २५ पुसदेखि सुरु हुने राष्ट्रिय लिगको तयारी छ। तर, आर्थिक अवस्था नाजुक रहेको कारण एसोसिएसन अगाडि बढेको उनको भनाइ थियो।
‘अहिले सबै क्लबको आर्थिक स्थिति कमजोर छ। यस प्रायोजनले पहिलो चरणमा राष्ट्रिय लिगमा क्लबहरूलाई सहयोग पुर्याउने छ,’ उनले भने।
यस्तै केटिएम सिटीका सिइओ महतोले फुटबलसँग धेरै अगाडिदेखि जोडिँदै आएको बताए। ‘यसअघि राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गरेका थियौं। अहिले क्लबहरूसँग पुन: जोडिन पाउँदा खुसी छौं,’ उनले भने।














