अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

इलाम। नेपाली महिला राष्ट्रिय टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा आबद्ध सेथु एफसी इन्डियन वुमन्स लिगमा पराजित भएको छ।
लिगअन्तर्गत दोस्रो खेलमा इस्ट बंगाल एफसीसँग १–० ले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा सुमिया गुलोथले गोल गर्दै ३ अंक दिलाइन्।
सुस्मिता लेप्चाले डिबक्स बाहिर मिलाइदिएको क्रसमा गुलोथले गरेको प्रहार अञ्जिलाले बचाउन सकिनन्। जितसँगै एक खेलबाट ३ अंक बटुलेको इस्ट बंगाल लिगको चौथो स्थानमा रहेको छ। इस्ट बंगाल डिफेन्डिङ च्याम्पियन हो।
२०२४–२५ को सिजन च्याम्पियन रहँदै इस्ट बंगालले साफ वुमन्स क्लब च्याम्पियनसिपमा स्थान बनाएको थियो। ४ दिनअघि काठमाडौंमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाली महिला लिग च्याम्पियन एपी एफ क्लबलाई ३–० ले हराउँदै उपाधिसमेत जितेको थियो। एपीएफ अञ्जिलाकै पूर्व क्लबसम्म हो।
२ खेलमा १ जित र १ पराजय भोगेको सेथु ३ अंकको साथ पाँचौं स्थानमा छ। अञ्जिलाले कप्तानीमा उत्रिँदै सेथुले पहिलो खेलमा किकस्टारलाई २–१ ले हराएको थियो। तेस्रो खेलमा सेथुले गोकुलम केरलाको सामना गर्नेछ। इन्डियन वुमन्स लिगमा यस पटक नेपालबाट अञ्जिला मात्र सहभागी छन्।







-1766541370309.webp&w=3840&q=75)




