जनकपुरको रणनीति : ‘झूट’बोल्दै, हाइप बढाउँदै !
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सबै टिम आफ्नो आफ्नै तयारीमा व्यस्त थिए।
यस्तो प्रतिस्पर्धी वातावरणमा जनकपुर बोल्ट्सले एक यस्तो नाम घोषणा गर्यो, जसले एकै दिनमा लिगको चर्चा अर्को स्तरमा पुर्यायो।
त्यो नाम थियो दक्षिण अफ्रिकाका स्टार स्पिनर इमरान ताहिर। उनका ५०० भन्दा बढी टी–२० विकेट, आईपीएलमा पर्पल क्याप जितेको सफलता, विश्वका शीर्ष फ्रेन्चाइज लिगमा हासिल गरेको अनुभव यी सबैले जनकपुरका समर्थक उत्साहित नहुने कुरै थिएन।
जनकपुरले अझ विश्वास दिलाउन आफ्नै अफिसियल वेबसाइटमा ताहिरको फोटो राखेर विदेशी कोटामा खेल्ने घोषणा पनि गर्यो। समर्थकहरूले उनलाई ‘बिग साइनिङ’ ठाने। योसँगै जनकपुरलाई फेरि उपाधि रक्षा गर्न ताहिर नै ‘एक्स–फ्याक्टर हुने चर्चा चल्न थाल्यो।
तर, समय बित्दै गयो। लिगका खेल सुरु भए र सकिने अवस्थामा पुगे। तर, ताहिर भने कतै देखिएनन्। लगातार चार हार र एक जितपछि प्लेअफको आशाको त्यान्द्रोमा झुन्डिएपछि मात्र टिमले अन्ततः भ्रम र वास्तविकता उजागर गर्यो।
सीइओ नीरज खतिवडा भन्छन्,‘ताहिर आउँदैनन्।’ उनका अनुसार अर्को लिगको तालिकासँग एनपीएलको तालिका जुध्नुको कारण नै उनलाई ल्याउन नसकिएको हो। यो परिस्थितिले धेरैको ध्यान खिचेकोछ। केही प्रश्न पनि उठ्न थालेका छन्।
तालिका पक्का नहुँदै टिमले आधिकारिक रूपमा ताहिरको नाम किन घोषणा गर्यो? यसलाई दुई तरिकाले बुझ्न सकिन्छ। पहिलो यो रणनीतिक गल्ती हो। खेलाडी ५०–५० अवस्थामै छ भने सार्वजनिक घोषणा गर्नु समर्थक प्रतिको विश्वासमा चोट हो। खेलमा हार–जित स्वाभाविक हो। तर, प्रचारका लागि स्टार खलाडीको नाम प्रयोग गर्नु भने ‘फ्रड’ नै हो।
दोस्रो यो मार्केटिङ रणनीति पनि हुन सक्छ। ताहिरजस्तो विश्वस्तरीय खेलाडीको नाम लिँदा टोलीमा सबैको ध्यान जान्छ। त्यति मात्र होइन, टिकट बिक्री, सोशल मिडियामा चर्चा र टिमको ब्रान्ड भ्यालु पनि बढ्छ।
तर, जनकपुरको नियत भने झुट र हाइपको देखिन्छ। किनभने सीइओ नीरज आफ्नो टिमको आधिकारिक फेसबुक पेजबाट भन्दा पनि सामान्य युट्युवबाट स्पष्टीकरण दिन व्यस्त देखिन्छन्।











-1764668485959.png&w=3840&q=75)