पोर्चुगल विश्वकपमा छनोट भए रोनाल्डोलाई एक खेलको प्रतिबन्ध लाग्ने !

काठमाडौं। पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अर्को वर्ष हुने विश्वकप नै आफ्नो अन्तिम हुने बताइसकेका छन्। तर, पोर्चुगल छनोट भए यी ४१ वर्षीय खेलाडीले पहिलो खेलमा भने प्रतिबन्ध झेल्नुपर्ने जोखिम बढेको छ।
डब्लिनमा बिहीबार भएको छनोट खेलमा आयरल्यान्डसँग २-० ले पराजित हुँदा रोनाल्डो दोस्रो हाफमा डिफेन्डर दारा ओ’शियालाई कुहिनोले हानेका थिए। योसँगै उनलाई रातो कार्ड दिइएको थियो।
रातो कार्ड पाएका कुनै पनि खेलाडीले अनिवार्य रूपमा एक खेलको प्रतिबन्ध भोग्नैपर्ने नियमअनुसार उनले आइतबार आर्मेनियाविरुद्धको खेल गुमाउने निश्चित छ। सो खेलमा जित निकाल्न सके पोर्चुगल २०२६ को विश्वकप (संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिको) मा स्थान बनाउनेछ।
तर, फिफाको अनुशासनात्मक नियमअनुसार उद्देश्यपूर्वक हिंसात्मक आक्रमणमध्ये कुहिनो प्रहार पनि पर्छ। फाउल प्लेमा कम्तीमा दुई खेलको प्रतिबन्ध हुन्छ। फिफाले लगाएको प्रतिबन्ध आधिकारिक प्रतिस्पर्धात्मक खेलमै लागू हुन्छ। यसलाई मैत्रीपूर्ण तयारी खेलहरूमा काट्न पाइँदैन।
अभिवा स्टेडियममा करिब एक घण्टापछि बल क्रस हुने प्रतीक्षा गरिरहेका बेला रोनाल्डोले ओ’शियाको ढाडमा दाहिने कुहिनो प्रहार गरेका थिए। सुरुआतमा रेफ्रीले पहेंलो कार्ड देखाएका थिए। तर, भिडियो सहायक रेफ्री (भीएआर) ले हस्तक्षेप गरेपछि पिचसाइड मोनिटरमा समीक्षा गरी रातो कार्डमा परिवर्तन गरियो।
मैदान छोड्दै गर्दा आयरल्यान्ड समर्थकले व्यंग्य र हूटिङ गर्दै उनलाई जिस्काएका थिए। उनले बीचमै रोकिएर दर्शकहरूलाई नियालेर हेरे। ताली बजाए र दुई औंला उठाएर व्यंग्यात्मक संकेत गरे।
४१ वर्ष लाग्न लागेका रोनाल्डोले २०२६ मा आफ्नो छैटौं विश्वकप खेल्ने लक्ष्य राखेका छन्, जुन एक विश्व रेकर्ड हुनेछ। विश्वकपको समूह चरणको ड्र डिसेम्बर ५ मा वासिङ्टन डीसीमा हुँदैछ। पोर्चुगलले (यदि छनोट भयो भने) आफ्नो तीन प्रतिद्वन्द्वीबारे थाहा पाउनेछ।
खेलमा आयरल्यान्डका फरवार्ड ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै टोलीको आशालाई जिवित गरे। आयरल्यान्डको आशा अब प्लेअफमार्फत जीवित रहने सम्भव बढेको छ।उसले आइतबार दोस्रो स्थानमा रहेको हङ्गेरीसँग खेल्नेछ।
समूह एफमा पोर्चुगल १० अंकसहित शीर्षमा छ। हङ्गेरी ८ अंकसहित दोस्रो, आयरल्यान्ड ७ अंकसहित तेस्रो स्थानमा छ।












