आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा
बिर्तामोड। संकटा फुटबल क्लबले झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोली झापा एफसीलाई एकतर्फी खेलमा ६–० ले पराजित गरेको छ। यस जितसँगै संकटा सहजै सेमिफाइनलमा पुगेको छ।
झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा जारी प्रतियोगिताको खेलको सुरुआतदेखि नै आक्रामक खेल प्रस्तुत गरेको संकटाले २३औं मिनेटमा सेनु परियारको गोलमार्फत अग्रता बनायो। पहिलो हाफको इन्ज्युरी समयमा समीक्षा मगरले गोल थप्दै संकटाको बढत २–० मा पुर्याइन्।
दोस्रो हाफमा पनि संकटाको आक्रमण झन् तीव्र बन्यो। ५५औं मिनेटमा भुटानी खेलाडी छिरिङ वांग्देनले पूर्णिमा राईको ब्याकहिल पासमा गोल गरिन्। त्यसपछि ६१औं मिनेटमा पूर्णिमाले नै सेनु परियारको असिस्टमा गोल गर्दै अन्तर ४–० बनाइन्।
८३औं मिनेटमा पुनः पूर्णिमाले रेनिशा शर्माको क्रसमा गोल गर्दै व्यक्तिगत दोस्रो र टोलीको पाँचौँ गोल गरिन्। खेलको अन्त्यतिर अरुणा स्याङ्तेनले मैदान प्रवेश गरेको केही मिनेटमै गोल थप्दै संकटाको जित ६–० मा पक्का गरिन्।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्।
खेलपछि झापा एफसीका प्रशिक्षक सन्देश श्रेष्ठले तयारी अभावका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको बताए। संकटा क्लबका प्रशिक्षक रवीन्द्र शिलाकारले भने टोलीले रणनीतिअनुसार खेल्दै सहज जित निकालेको प्रतिक्रिया दिए।












