एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वमुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अफगानिस्तानको फुटबल टोलीबाट बिदा लिएका छन्।
खेलपाटीसँग कुरा गर्दै आफूले अक्टोबर २६ तारिखमै रिलिज लेटर मागेको बताएका हुन्।
‘मैले टिम छाड्न अफगानिस्तान फुटबल फेडेरेसनसँग रिलिज लेटेर मागेको थिएँ। त्यसको भोलिपल्ट नै मैले लेटर पाएको हुँ,’ उनले भने। सन् २०२३ को मार्चमा उनी नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। एनेसको प्रशिक्षणमा नेपालले १९ खेल खेलेको थियो। तर, जितभन्दा दोब्बर हार बेहोर्न पुगेको थियो।
नेपालले ५ जित, ४ बराबरी र १० हारको नतिजा निकालेसँगै उनीसँग अखिल नेपाल फुटबल संघ (एन्फा)ले सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो। त्यसपछि उनी अफगानिस्तान लागेका थिए।
२०२५ को जुनदेखि उनले अफगानिस्तानको टोली सम्हालेका थिए। उनको प्रशिक्षणमा अफगानिस्ताने काफा नेसन्स कप र एएफसी एसियन कप छनोट गरी ६ खेल खेलेको थियो। तीमध्ये ३ खेलमा हार बेहोर्दा भारतसँग एक र पाकिस्तानसँग २ बराबरी खेलेको थियो।
यद्यपि, उनको कार्यकालमा टोलीले आठ खेलको हारको सिलसिला तोड्न सफल भएको थियो। उनी भन्छन्,‘मैले व्यक्तिगत रूपमै अफगानिस्तानबाट अलग हुने निर्णय गरेको हुँ। मलाई बर्खास्त गरिएको होइन।’
४० वर्षीय प्रशिक्षक एनेस इटालीका हुन्। उनीसँग बेलिज राष्ट्रिय फुटबल टोली सम्हालेको अनुभव छ। यस्तै, उनले इन्डोनेसिया, प्यालेस्टाइन, घाना, लिथुआनिया, कोसोभो, बेलारुस र भारतका क्लबलाई समेत प्रशिक्षण दिएका छन्।












