आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

काठमाडौं। नेपाल फुटबल खेलाडी संघले झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबबीचको सहमतिको विरोध गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बसेको एन्फा पदाधिकारी र ‘ए’ डिभिजनका क्लबका अध्यक्षबीचको बैठकले अर्को वर्षको पुस ३ गतेदेखि लिग गराउने सहमति गरेका थिए।
यस निर्णयले व्यवसायिक खेलाडीमाथि ठूलो अन्याय गरेको खेलाडी संघको ठहर छ। संघले पछिल्लो पटक लिग भएको करिब तीन वर्ष बित्न लाग्दा पनि एन्फाले पटक–पटकको आग्रह बेवास्ता गरेको आरोप लगाएको छ।
‘एन्फा, क्लब र युवा तथा खेलकुद मन्त्रालयबीच भएको छलफल र त्यसपछि बनेको समितिले लिग छिट्टै सञ्चालन गर्ने संकेत दिएको थियो। तर, एन्फाको पछिल्लो निर्णयले ती सबै पहललाई कमजोर बनाएको छ,’ संघको विज्ञप्तिमा भनिएको छ।
एन्फाले अहिले गर्ने भनिएको राष्ट्रिय लिगमा ६ टोली मात्र सहभागी हुनेछन्। यसले गर्दा धेरैजसो खेलाडीका लागि अवसर प्राप्त नहुने संघको बुझाइ छ।
संघका अनुसार ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनमा रहेका ४२ क्लबका १२५० देखि २१०० खेलाडी अर्को वर्ष खेल्नबाट वञ्चित हुने पक्का भएको छ।
यदि ‘ए’ डिभिजन लिग पनि नभए झन्डै १ हजारभन्दा बढी खेलाडी व्यावसायिक फुटबल खेल्नबाट वञ्चित हुने संघको तर्क छ।
संघले विज्ञप्तिमा भनेको छ,‘खेलाडीको मर्म र भावनामाथि खेलवाड भएकोले यो निर्णयप्रति हामी गम्भीर असन्तुष्टि जनाउँछौं। यस सहमति खेलाडीको अस्तित्व नै संकटमा परेको छ।’
संघले पटक–पटक एन्फालाई लिग सञ्चालनका लागि मौखिक र लिखित सुझाव दिँदै आएको उल्लेख गरेको छ। त्यसैले अब एन्फाको पछिल्लो निर्णयले खेलाडीहरूलाई आन्दोलनतर्फ जान बाध्य पारेको जनाएको छ।
संघले आगामी दिनमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी एन्फा नेतृत्वकै हुने चेतावनी दिएको छ। त्यसैगरी संघले फुटबलप्रेमी, समर्थक र सरोकारवालाहरूलाई खेलाडीको हकका लागि सुरु हुन लागेको अभियानमा साथ दिन आह्वान गरेको छ।










-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)