पुलिसको जितमा मिनाको ५ गोल

इलाम। झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब फराकिलो जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको छ।
चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै पुलिस सेमिफाइनलमा पुगेको हो। पुलिसका तर्फबाट मिना देउवाले ५ गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गरिन्।
रेखाले खेलको ३७औं, ८०औं र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन्। त्यस्तै, मिनाले खेलको ५१औं, ६०औं, ६२औं, ६८औं र ८१औं मिनेटमा गोल गरिन्।
३७औं मिनेटमा पुलिसले खेलमा खाता खोल्न सफल भयो। मिनाको क्रसमा रेखाले सुन्दर फिनिस गरिन्। दोस्रो हाफको सुरुआती समयदेखि चर्चविरुद्ध दबाब बनाएको पुलिसले ५१औं मिनेटमा मिनाको गोलमा अग्रता दोब्बर बनाउन सफल भयो।
५९औं मिनेटमा मिनाले सुन्दर फिनिस गर्दै व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो गोल गरिन्। उनले सम्झना लावतीको पासलाई गोलमा परिणत गरिन्। त्यसको पाँच मिनेट बित्न नपाउँदै मिनाले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरिन्।
पुलिसको लंगभली क्रसलाई चर्चकी गोलकिपर करुणाले राम्रो कलेक्ट गर्न नसक्दा मिनाले त्यसको फाइदा उठाउँदै टोलीलाई ४–० गोलको अग्रता दिलाउन सफल भइन्। ६८औं मिनेटमा रेखाको क्रसमा मिनाले आफ्नो चौथो गोल गरिन्।
८०औं मिनेटमा रेखाले ३० यार्डको लामो दूरीबाट गरेको सटले सिधै चर्चको जाली चुम्न पुग्यो। त्यसको तीन मिनेट बित्न नपाउँदै मिनाले टोलीका लागि सातौं तथा व्यक्तिगत पाँचौं गोल पूरा गरिन्।
खेलको अन्तिम समयमा रेखाले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा टोलीलाई ८–० गोलको फराकिलो अन्तरको जित सुरक्षित गराइन्। खेलको प्लेयर अफ द म्याच पुलिसकी मिना भइन्।
उनले नगद १५ हजार र ट्रफी पाइन्। मंगलबार दोस्रो क्वार्टरफाइनल खेल एपीएफ फुटबल क्लब र सिंग्लिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ। दुधे रंगशालामा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ।










-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)