डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा

पथरी, (मोरङ), अर्जुन काफ्ले । डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लब दोस्रो इन्ट्रा पथरी–शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।
मोरङको पथरी रंगशालामा शनिबार सम्पन्न खेलमा आयोजक पथरी ११ फुटबल क्लबले ब्रिगेडलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
पथरीका लागि निर्णायक गोल मिक्चेन दासले गरेका थिए। खेलको दोस्रो हाफमा सनम धिमालको क्रस बल र सौर्य राउतको पासलाई सदुपयोग गर्दै दासले ब्रिगेडका गोलकिपर सौरभ कार्कीलाई बिट गरी बल जालीमा पठाएका थिए। सो गोलसँगै घरेलु समर्थक उत्साहित बनेका थिए।
पहिलो हाफ केही सुस्त बनेको खेल दोस्रो हाफपछि दुबै टोली आक्रमक देखिएका थिए। तर, ब्रिगेडले बराबरी गोल फर्काउन नसक्दा पथरी ११ विजयी बनेको हो। उत्कृष्ट प्रदर्शनका आधारमा गोलकर्ता दासलाई खेलको म्यान अफ द म्याच घोषित गरियो।
प्रतियोगिताको अर्को क्वार्टरफाइनल खेल संकटा क्लब (काठमाडौं) र पाँचथर क्लब (पाँचथर)बीच सोमबार हुने तय भएको छ।












