बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम, तीन हजार सहभागी

नेपालगन्ज । करिब ३ हजार बालबालिकाको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको बाँकेमा औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउने कार्यक्रम रहेको छ ।
जसअन्तर्गत बाँकेको नेपालगन्ज रंगशालामा २५ भन्दा बढी विद्यालयहरुको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटन गरिएको हो ।
अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ, नेपालगन्ज उप–महानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट र बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले संयुक्त रुपमा राष्ट्रिय खेलकुद परिषदका फुटबल प्रशिक्षक रबिन्द्र श्रेष्ठलाई फुटबल हस्तान्त्रण गर्दै कार्यक्रमको उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा सहभागि विद्यालयहरुको तर्फबाट प्रतिनिधिका रुपमा जुनियर आइनस्टाइन स्कुललाई फुटबल हस्तान्त्रण गरिएको थियो ।
नेपालगन्ज रंगशालामा भएको कार्यक्रममा बाँके जिल्लाका निजी तथा सामुदायिक विद्यालयहरुबाट विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटनको दिन नेपालगन्ज रंगशालामा ८ देखि १२ वर्ष उमेर समुहका खेलाडीहरुले प्रशिक्षणसँगै मैत्रीपुर्ण अभ्यास खेल खेलेका थिए ।
नेपालगन्ज रंगशालामा ८ देखि १२ वर्ष उमेर समुह बालबालिकाहरुलाई बाँके जिल्ला फुटबल संघले चार महिना अघि देखि हप्ताको दुई दिन निःशुल्क रुपमा प्रशिक्षण गराउँदै आएको बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले बताए ।
नेपालगन्ज रंगशालामा तिन सय बालबालिकाहरुले बिहिबार र शुक्रबार प्रशिक्षण गरिरहेका छन् । जिल्लाका अन्य स्थानीय तहमा यो कार्यक्रम विस्तार गरेर बालबालिकालाई फुटबल प्रशिक्षण गराउने योजना रहेको खत्रीले बताएका छन् ।












