किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

काठमाडौं । एन्फाको क्यालेन्डरमै छ, ए डिभिजन र राष्ट्रिय लिग ।
ए डिभिजन लिग एन्फाको शीर्ष वरियताका १४ क्लबले खेल्ने लिग हो । राष्ट्रिय लिग भनेको ए डिभिजन सहित मोफसलबाट आएका शीर्ष क्लबहरु बीच खेलिने लिग हो ।
जिल्ला, प्रदेश हुँदै एन्फा प्रेसिडेन्टका शीर्ष क्लबहरुले ए डिभिजनका क्लबसँग मिलेर राष्ट्रिय लिग खेल्छन् ।
पछिल्लो दुई सिजन ए डिभिजन लिग भएको छैन । कुनैपनि देशको घरेलु फुटबलको मेरुदण्ड हो, लिग फुटबल । घरेलु लिग नहुदाँ नेपाली फुटबल ईतिहासकै समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको छ ।
लिग नुहदाँ अधिकांश सिनियर खेलाडी विदेश छन् । जो नेपालमा छन्, ति पनि पलायन हुने दिनको प्रतिक्षामा छन् । एन्फा महासचिव किरण राईले विदेश उड्नुलाई खेलाडीको प्रगतिको रुपमा ब्याख्या गर्छन् । तर खेल्ने वातावरणनै नभएपछि सुरक्षित भविष्यको खोजीमा धेरै खेलाडीले अष्ट्रेलिया लगायतका देश पुगेका छन् । राष्ट्रिय टिम अहिले नेपाली फुटबलमा अष्ट्रेलिया छिर्ने ‘गेट वे’ जस्तै बनेको छ ।
चर्च ब्वाईजले २०७९÷८० सालको घरेलु लिग जितेपछि एन्फाले ए डिभिजन लिग गर्न सकेको छैन । प्रतिपक्ष कित्तामा रहेका ईन्द्रमान तुलाधरलाई लाख बढी तलब दिने गरी एन्फाको सिईओ बनाउँदा समेत लिग हुन सकेन । एन्फा नेतृत्वलाई लागेको थियो, तुलाधरलाई एन्फा छिराए कम्तिमा लिग फुटबल गर्न सजिलो हुनेछ । तर तुलाधर सिईओ बनेपनि लिग भने भएन ।
लिग नभएर खेलाडी सबै पलायन भएका छन् । जति छन्, ति पनि फुटबल खेल्न बंगलादेश, भुटानतिर लागेका छन् । फुटबलको मेरुदण्ड मानिने लिगनै नभएपछि फुटबल प्रशंसकहरु एन्फातिर नारा जुलुस गर्न पुग्न लागेका छन् । असन्तुष्टिका स्वरहरु चर्को सुनिन लागेका छन् । जेन जी आन्दोलनपछि नेपाली फुटबलको समर्थक धेरै धैर्य गर्ने मुडमा छैनन् । त्यसैले पनि लिग कुनै हालतमा गर्नुपर्ने बाध्यतामा एन्फा छ ।
यस वर्ष पनि लिगको मिति तय गरिएको छ, पुसमा । तर त्यो लिग हुन्छ भन्नेमा न क्लबलाई लागेको छ, न एन्फालाई । लिगको तयारीको विषयमा एन्फा र क्लब बैठक बस्ने तयारी छ । तर अबको महिना दिनमा लिगको तयारी कसरी हुन्छ ? यो असम्भवप्रायनै छ । यस वर्षको लिगको तयारी त सिजनको सुरुवातमै गर्नुपर्ने हो । तर वर्षको मध्यतिर आएर गरिने छलफलबाट लिग जस्तो प्रतियोगिता खेल्न र खेलाउन कठिन छ ।
तयारी नपुग्ने भनेर क्लबले लिग खेल्न मानेका छैनन् । बरु होम एण्ड अवे भनेर एन्फासँग अड्को थापेका छन् । होम एण्ड अवे खेलाउने ताकत, क्षमता एन्फाको नेतृत्वसँग देखिदैन । ए डिभिजन लिगनै नहुने भेउ पाएको एन्फाले ए डिभिजन नभए राष्ट्रिय लिग भनेर नयाँ एजेण्डामा हो हल्ला मच्चाएको छ ।
राष्ट्रिय लिग गराउन ए डिभिजनका सबै क्लब पनि नचाहिने, ए डिभिजन नभएपछि टिमहरु घटुवामा नपर्ने हुदाँ क्लबहरु राष्ट्रिय लिग खेल्न राजी हुने एन्फालाई लागेको छ । यसैलाई सहजीकरण गरिरहेका छन्, एन्फा सिईओ तथा संकटा क्लबका अध्यक्ष ईन्द्रमान तुलाधरले । उनैले क्लबहरुलाई राष्ट्रिय लिग खेलाउन जोडबल गरिरहेका छन् । सोही अनुसार शनिबार क्लबहरुको बैठक राखेर राष्ट्रिय लिगमा सहमती गर्न उनले प्रयास गरे ।
एन्फाले लिग आयोजनाको दबाब झेलिरहेको छ । वर्तमान नेतृत्व राष्ट्रिय लिगको नाममा लिगको कर्मकाण्ड पुरा गर्न चाहन्छ । जसले गर्दा आफु निकटका क्लबहरुको ए डिभिजनको हैसियत तलमाथि पनि नहोस्, लिगको नाममा फुटबल पनि गरे जस्तो होस् ।












