चम्किए एमबाप्पे, रियलको फराकिलो अग्रता

काठमाडौं । केलियन एमबाप्पेले दुई गोल गर्दै रियल म्याड्रिडलाई ला लिगामा सात अंकको अग्रता दिलाएका छन् ।
शनिबार राति घरेलु मैदानमा रियल म्याड्रिडले भ्यालेन्सियामाथि सहज जित निकाल्यो।
एमबाप्पेले पहिलो ३१ मिनेटभित्रै दुई गोल गरे भने विनिसियस जुनियरले पेनाल्टी गुमाए । त्यसपछि जुड बेलिङहमले शानदार कर्लिङ शटमार्फत रियलको अग्रता थप फराकिलो बनाए।
अन्तिममा आल्भारो कार्रेरासले बायाँ खुट्टाबाट गरेको उत्कृष्ट प्रहारले रियलको चौथो लगातार जित सुनिश्चित ग¥यो।
गत साता एल क्लासिकोमा प्रतिस्थापन हुँदा असन्तुष्टि जनाएका विनिसियसमाथि यस खेलमा पनि सबैको ध्यान केन्द्रित थियो।
उनी यसपटक एमबाप्पे र बेलिङहमसँगै आक्रमणमा थिए । यि दुवै खेलाडीले गत साता बार्सिलोनाविरुद्ध पनि गोल गरेका थिए।
यस जितसँगै रियल म्याड्रिडले ११ खेलमा १० जित हासिल गर्दै शीर्ष स्थान मजबुत पारेको छ ।
यसअघि भएको खेलमा भिल्लारियलले रायो भायेकानोलाई ४–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ भने तेस्रो स्थानको बार्सिलोनाले आइतबार एल्चेविरुद्ध जित निकाल्न सके पाँच अंकले अन्तर घटाउने मौका पाउनेछ ।












