रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

अर्जुन काफ्ले, पथरी (मोरङ)। सिरहाको सलहेश युवा क्लब दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
पथरी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा सलहेशले भारतको सिलगुडी कञ्चनजंघा फुटबल क्लबलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको हो।
विदेशी खेलाडी रिचर्ड विल्सनको ह्याट्रिकको सहायताले सलहेसले एकतर्फी खेलमा सहज जित दर्ता गर्यो। खेलको सातौं मिनेटमा आदित्य शाक्यले सलहेशका लागि पहिलो गोल गरे।
त्यसपछि २४औं मिनेटमा रिचर्डले व्यक्तिगत पहिलो र टोलीका लागि दोस्रो गोल गरे। २८औं मिनेटमा सुजन डंगोलले गोल गर्दै पहिलो हाफमै सलहेशलाई ३–० को आरामदायी स्थिति दिलाए।

दोस्रो हाफको ५९औं मिनेटमा रिचर्डले व्यक्तिगत दोस्रो गोल गरे भने ६२औं मिनेटमा कञ्चनजंघाका प्रणिस प्रधानले टोलीका लागि सान्त्वना गोल फर्काए।
अतिरिक्त समयको पहिलो मिनेटमै रिचर्डले ह्याट्रिक पूरा गर्दै सलहेशको स्पष्ट जित सुनिश्चित गरे। खेलको ‘म्यान अफ द म्याच’ रिचर्ड घोषित भए।
पथरी–११ फुटबल क्लबको आयोजनामा सुरु भएको गोल्डकपको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले गरेका हुन्। प्रतियोगिताको विजेताले नगद ५ लाख र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजारमा सन्तोष मान्नेछ।

नेपाल र भारतका गरी ८ टोली सहभागी गोल्डकप कार्तिक २२ गतेसम्म सञ्चालन हुनेछ। आइतबार हुने दोस्रो खेलमा आयोजक पथरी–११ फुटबल क्लब र गत संस्करणका विजेता ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ।












-1761998475071.jpg&w=3840&q=75)


