नयाँ अनुहारमा प्रशिक्षक सन्तोष

काठमाडौं। भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा बुधबार साँझ सम्पन्न मैत्रीपूर्ण ‘च्यारिटी म्याच’मा नेपाल महिला राष्ट्रिय फुटबल टोलीले रोमाञ्चक जित दर्ता गरेको छ। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो।
त्यसपछि टाइब्रेकरमा नेपालले भारतलाई ३–० ले हराउँदै जित हात पारेको हो। खेलपछि प्रशिक्षक नवीन न्यौपानेले टोलीको प्रदर्शनप्रति सन्तुष्टि देखाए।
‘ओभरअल खेल राम्रै भयो। हामीले जुन स्पेस र प्लान गरेको थियौं, त्यसअनुसार प्लेअरहरूले धेरै एफर्ट गरे। पहिलो हाफमा त हामीले लगभग पूरा सेट चेन्ज गरेर खेलेका थियौं। त्यसपछिको खेलमा पनि सात–आठ वटा राम्रो अवसर क्रिएट भयो, गोल पनि भयो,’ उनी भन्छन्।
खेलको पहिलो हाफमै दुवै टोलीले गोल गरे। ३०औं मिनेटमा भारतकी सौम्या गुगुलोथले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाइन्। ब्याक पास क्लियर गर्न खोज्दा निशा ठोकरको खुट्टाबाट बल सौम्याको लागि नै सजिलो अवसर बन्यो। यसलाई उनले सहजै नेटमा पुर्याइन्।
तर, पहिलो हाफको इन्जुरी समयमा कप्तान अनिता बस्नेतले नेपाललाई खेलमा फर्काइन्। उनले प्रहार गरेको कर्नर बल ड्रप हुँदै सीधै गोलमा परिणत भयो। बराबरी गोलपछि नेपालले आत्मविश्वास फर्कायो र खेलको ऊर्जा फेरि थपियो।
दोस्रो हाफमा दुवै टोलीले अवसर सृजना गरे पनि गोल गर्न सकेनन्। अन्ततः खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा गोलकिपर अञ्जना रानामगर नायिका बनिन्।
भारतका तीन प्रहारमध्ये दुई उनले बचाइन् भने अर्को बाहिरियो। नेपालका तर्फबाट सविता रानामगर, रश्मीकुमारी घिसिङ र निशा ठोकरले गोल गरिन्।
अनिता बस्नेतको प्रहार बाहिरिए पनि त्यसले जितमा असर पार्न सकेन।
३–० को जितसँगै नेपालले च्यारिटी म्याच आफ्नो नाममा लेखायो। प्रशिक्षक न्यौपाने भन्छन्,‘पहिलो प्रहार भारतले मिस गरेपछि उनीहरूको कन्फिडेन्स लो भयो। हाम्रो चाहिँ एकदमै हाइ थियो। यो टाइब्रेकरको जित मात्र होइन, नेपाली महिला फुटबलले अझ गर्न सक्छ भन्ने एउटा पोजिटिभ सन्देश हो।’
नेपालले यो खेलभन्दा अगाडि सिलोङमा इरान र भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा इरानसँग नेपाल ३–० ले पराजित भयो। तर, दोस्रो खेलमा भने भारतलाई २–१ ले हरायो।
एएफसी एसियन कपमा छनोट भइसकेको भारतविरुद्ध दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन्। तर, सिक्किमका भएको खेल फिफा विन्डोभन्दा बाहिरको भएपछि उनललाई खेल्न कर लागेन।
उनीसँगै गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा र मिडफिल्डर प्रीति राईले पनि खेलिनन्। एएफसी एसियन कपको तयारीका लागि भारतले पनि एक्सपोजर दिलाउन जुनियर टोली उतारेको थियो। तर, उनीहरूको बल पोजिसन र कन्सेप्ट राम्रो देखियो।
नेपालले पहिलो र दोस्रो हाफमा धेरै मौका पाएको थियो। तर, गोल भने गर्न सकेन। न्यौपाने भन्छन्, ‘पहिलो हाफमा राम्रो चान्स थियो, सेकेन्ड हाफमा हामी अझ अर्गनाइज भएर खेलेका थियौं, तर अवसर ग्र्याब गर्न सकेनौं।’
उनले साफ महिला यु–२० च्याम्पियनसिपमा १० गोल गरेकी स्ट्राइकर पूर्णिमा राईलाई सुरुआती ११ मा उतारेका थिए। मिडफिल्डर प्रतीक्षा चौधरी र गोलकिपर उषा नाथलगायतले पनि मौका पाइन्। ‘यी खेलाडीहरूलाई यस्ता म्याचहरूले ठूलो अनुभव दिनेछन्,’ उनले भने।
तीन मुख्य खेलाडीको अनुपस्थितिमै नेपालले प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै जित हात पार्दा प्रशिक्षक न्यौपाने दंग देखिन्छन्। यो नतिजा उनका लागि नयाँ अनुहारमा भरोसा गर्न सकिने प्रमाण पनि बनेको छ।
तर, महिला फुटबलमा भएको लगानीमा भने उनी खुसी देखिँदैनन्। भन्छन्,‘अब सरकारले, संघ–संस्थाले महिला फुटबलमा अझ इन्भेस्ट गर्नुपर्छ। हामीसँग सम्भावना छ, संरचना र समर्थन चाहिएको हो।’












