नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

काठमाडौं। नेपालले एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत मलेसियासँग घरेलु मैदानमा खेल्नुपर्ने खेल गुमाएको छ।
एसियन फुटबल कन्फेडरेसन (एएफसी) र मलेसिया फुटबल संघ (एफएएम) का अनुसार एएफसी एशियन कप २०२७ छनोट अन्तर्गत नेपाल र मलेसियाबीचको क्वालालम्पुरमा हुने तय भएको हो।
आगामी १८ नोभेम्बर २०२५ मा हुने यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय थियो। तर, खेल क्वालालम्पुरस्थित बुकीत जालिल राष्ट्रिय रंगशालामा सारिएको एएफसीले जानकारी दिएको हो।
एएफसीका अनुसार सुरक्षा र व्यवस्थापकीय कारण देखाउँदै मलेसियालाई वैकल्पिक स्थलका रूपमा छनोट गरिएको हो। नेपालले अन्तिमपटक घरेलु मैदानमा २१ नोभेम्बर २०२३ मा यमनविरुद्धको विश्व कप तथा एसियन कप छनोटको खेल दशरथ रंगशालामा खेलेको थियो। त्यसयता बंगलादेशसँग ६ नोभेम्बरमा एक मैत्रीपूर्ण खेल खेल्न पाएको थियो।
तर, एएफसीका आधिकारिक खेल भने गुमाउँदै आइरहेको छ। चार खेलपछि नेपाल समूह ‘एफ’को तल्लो स्थानमा अंकविहीन अवस्थामा रहँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ।
नेपालले मार्च २५ मा सुलतान इब्राहिम स्टेडियममा मलेसियासँग पहिलो लेगमा २–० को हार बेहोरेको थियो। त्यसपछि लाओस २–१ र भियतनाम ३–१ र १–० ले पराजित भएको थियो।
खेल स्थल परिवर्तनसँगै मलेसियाका लागि ठूलो फाइदा हुने निश्चित छ। घरेलु समर्थकहरूबीच खेल्दा हरिमाउ मलाया (मलेसियाको राष्ट्रिय टोली)लाई थप ऊर्जा र मनोबल मिल्ने अपेक्षा गरिएको छ।
नेपालका लागि भने यो खेल अब कठिन चुनौती बन्न सक्नेछ। प्रतिकूल वातावरण र दर्शक दबाबबीच टोलीले खेल्नुपर्नेछ। बुकीत जालिल रंगशाला दक्षिणपूर्वी एशियाकै सबैभन्दा ठूलो स्टेडियम हो। यस रंगशालमा करिब ८७ हजार दर्शक अटाउने क्षमता छ।
यही रंगशालमा मलेसियाले यसअघि पनि नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको इतिहास छ।













-1761641224925.jpeg&w=3840&q=75)