२०२६ को विश्वकप खेल्न चाहन्छन् मेसी

काठमाडौं। २०२६ को विश्वकपमा खेल्नेबारे लामो समयदेखि उठ्दै आएको प्रश्नमा अन्ततः लिओनल मेसीले स्पष्ट प्रतिक्रिया दिएका छन्। अब विश्वकप हुन एक वर्षभन्दा कम समय बाँकी छ।
तर, समर्थकहरूलाई उत्सुकता छ, मेसी अझै एक पटक विश्वकप खेल्नेछन् कि छैनन्? अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजसँगको अन्तर्वार्तामा मेसीले २०२६ विश्वकप खेल्ने इच्छा व्यक्त गरेका छन्।
अमेरिका, मेक्सिको र क्यानडामा हुने आगामी विश्वकपमा अर्जेन्टिनाका लागि पुनः उपाधि रक्षा अभियानमा सहभागी हुन चाहेको उनले बताएका छन्। तर, सधैंझैं उनले भनेका छन्— सबै कुरा उनको शारीरिक फिटनेसमा निर्भर हुनेछ।
मेसी भन्छन्, ‘विश्वकपमा खेल्नु अविश्वसनीय कुरा हो। म त्यहाँ रहन चाहन्छु। राष्ट्रिय टिमको जर्सीमा खेल्नु सधैं सपना जस्तै लाग्छ, विशेषगरी ठूला प्रतियोगितामा। आशा छ, परमेश्वरले फेरि त्यो अवसर दिनुहुनेछ।’ हालको प्रदर्शन हेर्दा मेसी उत्कृष्ट फर्ममा छन्। उनले भर्खरै एमएलएसमा गोल्डेन बुट जितेका छन् र एमभीपी अवार्डका फाइनलिस्ट बनेका छन्। अहिले भने उनको सम्पूर्ण ध्यान इन्टर मियामीलाई एमएलएस कप जिताउनेतर्फ केन्द्रित छ।
अर्जेन्टिनाका कप्तान भन्छन्, ‘आगामी वर्ष इन्टर मियामीसँग प्रि–सिजन तयारीपछि म हरेक दिन आफ्नो अवस्था मूल्यांकन गर्नेछु, म पूर्ण रूपमा फिट छु कि छैन भन्ने बुझ्नेछु।’
सेमिफाइनल प्रवेशका लागि नैस्भिलविरुद्ध तीन खेलको सिरिजको पहिलो खेलमा मियामीले ३–१ गोलले जित निकालिसकेको छ। आउँदो नोभेम्बर २ मा हुने दोस्रो खेल जित्न सके मियामीको सेमिफाइनल स्थान पक्का हुनेछ।












-1761641224925.jpeg&w=3840&q=75)