बर्खास्त भए युभेन्ट्सका प्रशिक्षक इगोर

काठमाडौं। टिमको लगातार कमजोर प्रदर्शनपछि इटालियन क्लब युभेन्ट्सले आफ्ना मुख्य प्रशिक्षक इगोर टुडोरलाई बर्खास्त गरेको छ। पछिल्ला ८ खेलमा पनि जित निकाल्न नसकेपछि क्लबले उनलाई बिदा गरेको हो।
४३ वर्षीय यो क्रोएसियाली प्रशिक्षकले मार्च महिनामा युभेन्ट्सको जिम्मेवारी सम्हालेका थिए। सन् २००६–०७ सिजनमा डिडियर डेसच्याम्पपछिका उनी युभेन्ट्सका पहिलो विदेशी प्रशिक्षक बनेका थिए।
उनको प्रशिक्षणमा गत सिजन युभेन्ट्सले सिरी ‘ए’ मा चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगको स्थान सुरक्षित गरेको थियो। यद्यपि, यो सिजनको सुरुआत राम्रो भए पनि युभेन्ट्स त्यसपछि लगातार कमजोर रह्यो।
सिरी ‘ए’ का पहिलो ३ खेल जितेका थिए। तर, त्यस पछिका ८ खेलमा क्लबले जित हासिल गर्न सकेको छैन। यस अवधिमा युभेन्ट्सले ५ बराबरी र ३ खेलमा हार बेहोरेको छ। ती तीनवटै हार पछिल्ला ३ खेलमा हात परेका हुन्।
टुडोरको स्थानमा युभेन्ट्सले अन्तरिम प्रशिक्षकका रूपमा मास्सिमो ब्राम्बिल्लालाई नियुक्त गरेको छ। उनी यसअघि क्लबको एकेडेमी टिम ‘युभेन्ट्स नेक्स्ट जेन’ का प्रशिक्षक थिए।
सिरी ‘ए’मा ८ खेलबाट जम्मा १२ अंकसहित युभेन्ट्स तालिकाको आठौं स्थानमा झरेको छ। शीर्षमा रहेको नापोलीभन्दा ६ अंकले पछाडि छ। च्याम्पियन्स लिगमा पनि युभेन्ट्स २५औं स्थानमा २ अंकसहित कमजोर स्थितिमा रहेको छ।









-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

