हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेटका अधिकांश ब्याटिङ कीर्तिमान अझै पनि सचिन तेन्दुलकरकै नाममा छन्। रन, शतक वा निरन्तरतामा त्यो युगका महान् ब्याटरलाई पार गर्न अझै कसैले सकेको छैन।
तर, अस्ट्रेलियाका पूर्व क्रिकेटर माइक हसीले भने यदि आफूले थोरै कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको भए तेन्दुलकरका सबै कीर्तिमान आफ्नो नाममा पार्ने दाबी गरेका छन्।
सन् २००४ मा अस्ट्रेलियाको लागि पहिलोपटक खेलेका हसी त्यतिबेला २९ वर्षका थिए। ९ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा उनले जम्मा १२ हजार ४८८ रन बनाए। अर्कातिर १६ वर्षकै उमेरमा भारतका लागि डेब्यू गरेका सचिनले २४ वर्ष लामो करिअरमा जम्मा ३४ हजार ३५७ रन बनाए। यो हसीभन्दा झण्डै तीन गुणा बढी हो।
तर, पनि हसी यदि आफूले २० कै दशकमा अस्ट्रेलियाको लागि खेल्न पाएका भए सचिनभन्दा कम्तीमा ५ हजार रन बढी बनाउने दाबी गरेका छन्। द ग्रेड क्रिकेटर नामक पोडकास्टमा उनले भने,‘मैले यो कुरा धेरै सोचें। यदि मैले २० को दशकमा नै अस्ट्रेलियाको लागि खेल्न थालेको भए म सचिनभन्दा पाँच हजार रन बढी बाउथे। क्रिकेट इतिहासकै सबैभन्दा बढि रन, बढी शतक, बढि जित सबै मेरो नाममा हुन्थ्यो। बढि एशेज, बढि विश्वकप तर त्यो सबै सपना नै रह्यो।’
हसीले ७९ टेस्टमा ६ हजार २३५ रन बनाएका छन्। औसत ५१.५२ को छ। वनडेमा १८५ खेल खेल्दै ५ हजार ४४२ रन र टी–२० अन्तर्राष्ट्रियमा ३८ खेलमा ७२१ रन गरेका छन्। उनका नाममा २२ अन्तर्राष्ट्रिय शतक छन् र उनले अस्ट्रेलियालाई एक पटक विश्वकप जिताएका छन्।
तेन्दुलकरको आँकडा भने अझै पनि पहुँचबाहिर छ। २०० टेस्टमा १५ हजार ९२१ रन, ५१ शतक छ। ४६३ वनडेमा १८ हजार ४२६ रन र ४९ शतक छ। कुल मिलाएर उनको नाममा १०० अन्तर्राष्ट्रिय शतक छन्। यो कीर्तिमानले उनलाई अझै पनि क्रिकेटका भगवानको रूपमा स्थापित गरेको छ।