अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

अस्ट्रेलिया। अस्ट्रेलियाको तास्मानियामा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। नेपलिज फुटबल क्लब अफ तास्मानिया(एनएफसीटी) को आयोजनामा तास्मानियाको क्रोनेलियन वे ओभल–१५ क्विन्स वाकमा डिसेम्बर १३ मा यो प्रतियोगिता आयोजना हुने भएको हो।
एनएफसीटीले अस्ट्रेलियामा बस्ने नेपाली समुदायलाई लक्षित गर्दै नियमित रूपमा यस्ता प्रतियोगिता आयोजना गर्दै आएको छ। चौथो पटक आयोजना हुन लागेको यो प्रतियोगिता हालसम्मकै ठूलो हुने दाबी आयोजकले गरेको छ।
‘यो पटक आयोजना हुने प्रतियोगिता तास्मानियामा नेपाली समुदायले आयोजना गरेको मध्ये हालसम्मकै ठूलो पुरस्कार राशीको हो,’ क्लबका सचिव सुवास खतिवडा भन्छन्। प्रतियोगितामा पहिलो हुनेले ८ हजार अष्ट्रेलियन डलर पुरस्कारसँगै ट्रफी र मेडल प्राप्त गर्नेछन्। त्यस्तै दोस्रो हुने टिमले ४ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्ने उल्लेख छ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, धेरै गोल गर्ने खेलाडी लगायतलाई समेत रकमसहितको पुरस्कार उपलब्ध हुनेछ। यस प्रतियोगितामा अस्ट्रेलियाका विभिन्न प्रान्तमा बस्ने नेपालीहरूको १६ भन्दा बढी टिम सहभागी हुने अपेक्षा आयोजकको छ।
प्रहोबर्टमा बढ्दै गएको नेपाली समुदायलाई मध्यनजर गर्दै स्थानिय सरकारले समेत सहयोग गरेको सचिव खतिवडाले बताएका छन्। उनका अनुसार प्रतियोगितासँगै उक्त दिन त्यहाँ नेपाली खानाको स्टल, वार्षिक प्रायोजकहरूको स्टलका साथै विभिन्न मनोरञ्जनका कार्यक्रमहरू समेत रहने छ।
नेपाली समुदायलाई लक्षित गरि आयोजना हुने यस्ता कार्यक्रमले अष्ट्रेलियमा रहेका नेपाली समुदायमा एकै ठाउँमा ल्याएर एकता कामय गर्न मद्दत पुग्नुका साथै खेलाडीहरुलाई आफ्नो प्रतिभा देखाउने माध्ययम समेत हुने आयोजकले बताएको छ। त्यतिमात्रै नभएर विभिन्न सहरमा बस्ने नेपाली समुदायलाई तास्मानियमाको सुन्दरता भ्रमण गर्ने अवसर समेत मिल्नेछ।