च्याम्पियन्स लिगमा पनि उस्तै लयमा आर्सनल
-1761098856553.webp&w=3840&q=75)
काठमाडौं। आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकाल्दै च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ। प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल अहिले युरोपियन मञ्चमा पनि छलाङ मारिरहेको छ।
एमिरेट्स स्टेडियममा भएको खेलको दोस्रो हाफमा मिकेल आर्टेटाको टोलीले आक्रमक प्रदर्शन गर्दै एट्लेटिकोलाई पूर्ण रूपमा दबाबमा राख्यो र ४–० को जित दर्ता गर्यो।
नयाँ सिजनमा अनुबन्धित विक्टर जियोकेरेसले लगातार तीन मिनेटभित्र दुई गोल गर्दै टोलीको जित पक्का गरे। योसँगै उनको सात खेलको लामो गोल खडेरी पनि तोडे।
आर्टेटाले खेलपछि भने,'म उनको प्रदर्शनबाट निकै खुसी छु। उनले टोलीका लागि गर्ने मिहिनेत असाधारण छ। आज उनको अनुहारमा देखिएको मुस्कान नै सबभन्दा ठूलो पुरस्कार हो।'
खेलमा ग्याब्रिएल म्यागालेस र ग्याब्रिएल मार्टिनेलीले पहिलो हाफमै गोल गर्दै आर्सनललाई २–० को अग्रता दिलाएका थिए। त्यसपछि जियोकेरेसका दुई छिटो गोलले जित सुनिश्चित गर्यो।
यो जितसँगै आर्सनल अंक तालिकामा तेस्रो स्थानमा रहेको छ। टोली गोल अन्तरका कारण पेरिस सेन्ट–जर्मेन (पीएसजी) र इन्टर मिलानभन्दा पछाडि छ।