टप–क्लास टोली पीएसजी
-1761098496424.webp&w=3840&q=75)
काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ। मंगलबार सम्पन्न खेलमा बायर लेभरकुजेनलाई ७–२ ले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको हो।
उत्कृष्ट आक्रामक प्रदर्शन गरेको डिफेन्डिङ च्याम्पियनले पहिलो हाफमै खेलको नियन्त्रण आफ्नो पक्षमा ल्याएको थियो। डेसिरे डोएले दुई गोल गरे भने विलियन पाचो, ख्विचा क्वारात्सखेलिया, नुनो मेन्डेस, उस्मान डेम्बेले र भिटिन्हाले पनि गोल थपे।
सातौं मिनेटमै पाचोले नुनो मेन्डेसको आकर्षक क्रसमा हेडर गर्दै गोल गरे र पीएसजीलाई अग्रता दिलाए। तर, १६औं मिनेटमा लेभरकुजेनलाई पेनाल्टी दिइयो। इलिया जबार्नीले क्लाउडियो एचेभेरीलाई फल गरेका थिए। तर, कप्तान आलेखान्द्रो ग्रिमाल्डोको शट पोस्टमा ठोक्कियो।
त्यसपछि खेलको गतिलाई निर्णायक मोड दिँदै भीएआरले लेभरकुजेनका कप्तान रोबर्ट आन्द्रिचलाई डोएलाई कुहिनो हानेको कारण पहेंलो कार्डबाट रातोमा परिवर्तन गर्यो।
तर, पीएसजीको संख्यात्मक लाभ लामो समय टिकेन। पाँच मिनेटमै जबार्नीले क्रिश्चियन कोफानेलाई बक्सभित्र तानेपछि उनी पनि सिधा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।
त्यो क्षणमा घरेलु दर्शक खुसी भए। त्यही मौकामा आलेइक्स गार्सियाले पेनाल्टी गोल गर्दै स्कोर बराबरीमा ल्याएका थिए। तर, त्यो खुसी क्षणिक मात्र रह्यो।
पाँच मिनेटको अन्तरालमा डोएले सटसटिएको फिनिशमार्फत गोल गरे। क्वारात्सखेलियाको पहिलो–टाइम स्ट्राइक दुईवटै पोस्ट ठोकेर भित्र गयो र त्यसपछि डोएले काउन्टर–अट्याकमा लो–कर्लिङ गोल गर्दै आफ्नो दोस्रो व्यक्तिगत गोल पूरा गरे।
दोस्रो हाफ पनि त्यही लयमा सुरु भयो। भिटिन्हाले लेभरकुजेनका मिडफिल्ड चिरेर मेन्डेसलाई पास दिए, जसले नजिकको पोस्टमा गोल गरे।
त्यसपछि गार्सियाले ३० यार्ड टाढाबाट सनसनीपूर्ण गोल गर्दै स्कोर ६–२ मा पुर्याए। घाइते अवस्थाबाट फर्किएका डेम्बेलेले मैदानमा प्रवेश गरेको तीन मिनेटमै ब्याकपोस्टमा सजिलो ट्याप–इन गर्दै आफ्नो पुनरागमनलाई गोलले सम्झिए।
९०औं मिनेटमा भिटिन्हाले लो–सटमार्फत अन्तिम गोल गर्दै पीएजीको जितलाई ७–२ मा पूर्ण गरे। यद्यपि घरेलु लिग लिग १ मा पीएसजी हाल संघर्षरत छ। पछिल्ला चार खेलमध्ये एक जित दर्ता गर्दै शीर्ष स्थान मर्सेइलाई सुम्पिएको छ।
तर, युरोपेली मञ्चमा उनीहरूको लय अझै बलियो देखिएको छ। यो जितसँगै तीन खेलबाट ९ अंक पुर्याएको पीएसजीले चोटपटक र घरेलु दबाबबीच पनि युरोपमा अझै टप–क्लास टोलीका रूपमा आफूलाई उभिएका छन्।