जितको लयमा फर्कियो बार्सिलोना
-1761097665963.webp&w=3840&q=75)
काठमाडौं। बार्सिलोनाले युरोपेली फुटबलमा पुनः आफ्नो लय समाउन थालेको छ।
लुइस कम्पनीस ओलिम्पिक स्टेडियममा मंगलबार राति भएको च्याम्पियन्स लिगको खेलमा बार्सिलोनाले ग्रीसको ओलिम्पियाकोसलाई ६–१ ले पराजित गर्दै सानदार जित दर्ता गरेको हो। यस जितसँगै बार्सिलोना च्याम्पियन्स लिगको लिग फेजमा अस्थायी रूपमा शीर्ष आठमा उक्लिएको छ।
खेलको मुख्य आकर्षण बने फर्मिन लोपेज। युवा मिडफिल्डरले आफ्नो करिअरकै पहिलो ह्याट्रिक पूरा गरे। बार्सिलोनाका लागि च्याम्पियन्स लिगमा कुनै स्पेनिस खेलाडीको यो पहिलो ह्याट्रिक पनि हो। लोपेजले खेलको २३औं मिनेटमा रिबाउन्डमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। त्यसपछि ३१औं मिनेटमा पेड्रो फर्नान्डेजको पासमा उनले दोस्रो गोल थपे।
दोस्रो हाफमा ६४औं मिनेटमा तेस्रो गोल गर्दै उनले ह्याट्रिक पूरा गरे र बार्सिलोनालाई ३–० को बलियो स्थितिमा पुर्याए। मार्कस रासफोर्डले पनि बार्सिलोनाको आक्रमणलाई झनै धारिलो बनाए।
पहिलो हाफको अन्त्यतिर उनले गोल गर्दै स्कोर ३–० बनाए र दोस्रो हाफमा ६८औं मिनेटमा अर्को गोल थप्दै फराकिलो अग्रता दिलाए। त्यसपछि १७ वर्षीय लामिन यमलले ७२औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै स्कोर ६–० बनाए। खेलको अन्त्यतिर ओलिम्पियाकोसले एक सान्त्वना गोल फर्कायो। तर, त्यसले खेलको समीकरणमा कुनै परिवर्तन ल्याउन सकेन।
बार्सिलोनाको यो जित स्कोरको हिसाबले होइन, आत्मविश्वासको दृष्टिले पनि महत्त्वपूर्ण रह्यो। पछिल्ला केही युरोपेली खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेको टिमले यो जितमार्फत पुनरागमन गरेको हो। नयाँ ढाँचामा भइरहेको च्याम्पियन्स लिगमा शीर्ष आठ टोली सिधै अन्तिम १६ मा पुग्ने भएकाले यो जितले बार्सिलोनाको यात्रा सहज बनाएको छ।
खेलमा लोपेनको आत्मविश्वास र सन्तुलन झल्किन्थ्यो। उनले बक्सभित्रको स्थानको सही उपयोग गर्दै लगातार तीन गोल गरे र ‘म्यान अफ द म्याच’ बने। रासफोर्डको फर्म पनि निरन्तर उकृष्ट रह्यो भने यमलले युवा उमेरमै ठूलो स्तरमा आफ्नो क्षमताको परिचय दिँदै सबैको ध्यान ताने।