भारतले रोनाल्डोलाई आफ्नो देश ल्याउन सकेन

काठमाडौं। क्रिस्टियानो रोनाल्डोलाई आफ्नै देशमा प्रत्यक्ष खेल्दै गरेको हेर्ने भारतीय फुटबल समर्थकहरूको सपना फेरि अधुरो रहने भएका छन्। एएफसी च्याम्पियन्स लिग खेल्न अल–नसार भारतको गोवा पुगे पनि टोलीसँग रोनाल्डो छैनन्।
उनलाई भारत ल्याउनका लागि एफसी गोवाले बारम्बार अनुरोध गरे पनि असफल भएको छ। तर, रोनाल्डो नआए पनि अल–नसारका अधिकांश स्टार खेलाडीहरू भारत आउने निश्चित भएको साउदी क्लबले जनाएको छ।
विश्वभर उनका असीमित समर्थक छन्। भारतमै पनि करोडौं समर्थक छन्। उनीहरू आफ्ना मनपर्ने खेलाडीलाई प्रत्यक्ष खेल्दै गरेको हेर्ने सपना देखिरहेका थिए। एएफसी च्याम्पियन्स लिगले त्यो सपना पूरा हुने आशा जगाएको थियो, तर अन्ततः त्यो आशा निराशामा परिणत भएको छ।
एफसी गोवाविरुद्धको च्याम्पियन्स लिग खेलका लागि अल–नसारको टोली सोमबार राति भारत पुगेको हो। तर, टोलीको यात्रु सूचीमा रोनाल्डोको नाम छैन। गोवाले बारम्बार आग्रह गरे पनि साउदी प्रो लिग क्लबले त्यसलाई बेवास्ता गरेको बताइएको छ।
रिपोर्टका अनुसार रोनाल्डो स्वयं भारतमा आएर खेल्न इच्छुक छैनन्। उनले यो कुरा क्लबलाई पहिले नै स्पष्ट रूपमा बताइसकेका छन्। उनले अल–नसारसँग पछिल्लो सम्झौतामा खेल छनोटमा आफूलाई पूर्ण स्वतन्त्रता दिइने शर्त राखेका छन्। यही अधिकार प्रयोग गर्दै उनले भारतमा नखेल्ने निर्णय गरेका हुन्।
रोनाल्डो नआए पनि अल–नसारसँग स्टार खेलाडीहरूको कमी छैन। एफसी गोवाविरुद्धको खेललाई क्लबले निकै गम्भीर रूपमा लिएको छ। त्यसैले उनीहरूले करिब पूरा टोली भारत पठाएको छ।
४० वर्षको उमेरमा पनि रोनाल्डो अझै मैदानमा आफ्नो जादु देखाइरहेका छन्। उनको प्रमुख लक्ष्य अब २०२६ फिफा विश्वकप हो।
त्यसैले उनी आफ्नो कार्यभार सन्तुलित गर्दै आगामी आठ महिनामा छानिएका खेलहरू मात्रै खेल्न चाहन्छन्। यही कारणले एफसी गोवाविरुद्ध नखेल्ने उनको निर्णय अस्वाभाविक मानिएको छैन।