यमलको ‘अटोग्राफ’ लिन पैसा तिर्नुपर्ने

काठमाडौं। चर्चित व्यक्तिबाट अटोग्राफ पाउनु प्रशंसकका लागि सधैं विशेष क्षण हुन्छ। केही शब्द र हस्ताक्षरले वर्षौंसम्म सम्झना ताजा बनाइदिन्छ।
तर, बार्सिलोनाका युवा स्टार लामिन यमलका समर्थकहरूलाई अब यस्तो सम्झना बनाउन चाहिँ खर्च गर्नैपर्ने देखिन्छ।
क्याटलान मिडिया मुन्दो देपोर्टिभोका अनुसार यमलले अबदेखि फ्रिमा अटोग्राफ नदिने निर्णय गरेका छन्। उनी अहिले आफ्नो अटोग्राफ बिक्री गर्ने योजनामा छन्। यसबारे बार्सिलोनाका एक विशेष वेबसाइटसँग छलफल पनि सुरु भइसकेको बताइन्छ।
यदि दुवै पक्षबीच सम्झौता भयो भने समर्थकहरूले यमलको अटोग्राफ पाउनका लागि निश्चित रकम तिर्नुपर्नेछ। वेबसाइटले नै अटोग्राफ उपलब्ध गराउने जिम्मा लिनेछ।
तर, यो कदमले बार्सिलोनालाई असजिलोमा पार्न सक्छ। क्लबका स्पोन्सरहरूसँगको सम्झौता अनुसार खेलाडीहरूले विभिन्न कार्यक्रममा समर्थकहरूलाई निःशुल्क अटोग्राफ दिनुपर्छ। त्यसैले क्लब यमलसँग कुरा गरी उनको फ्रि अटोग्राफ जारी राख्ने प्रयासमा रहेको छ।
१७ वर्षकै उमेरमा युरो जितिसकेका यमलको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ। फोर्ब्सको सर्वेक्षणअनुसार उनी विश्वकै सबैभन्दा बढी आम्दानी गर्ने फुटबलरहरूको सूचीमा १०औं स्थानमा छन्। २०२५–२६ सिजनमा उनको अनुमानित आम्दानी ४३ मिलियन डलर छ।
यदि अटोग्राफ बिक्रीको सम्झौतामा हस्ताक्षर गरे भने उनको आम्दानी अर्को वर्ष झन् बढ्ने निश्चित देखिन्छ।