मेसीलाई पहिलोपटक एमएलएसमा गोल्डेन बुट

काठमाडौं। अमेरिकन सकर लिग (एमएलएस)मा गोलको वर्षा गर्दैछन्, लिओनल मेसी। इन्टर मियामीका अर्जेन्टिनी सुपरस्टारले अघिल्लो खेलमा दुई गोल गरेका थिए।
यसपटक नाशभिलविरुद्ध उनले एमएलएस करिअरको दोस्रो ह्याट्रिक पूरा गरे। नियमित सिजनको अन्तिम खेलमा इन्टर मियामीलाई ठूलो जित दिलाउँदै मेसीले सुनिश्चित गरे गोल्डेन बुट।
आइतबार भएको खेलमा इन्टर मियामीले नाशभिललाई ५–२ गोलले पराजित गर्यो। कप्तान मेसीले ह्याट्रिकसहित एक असिस्ट पनि गरे। यो एमएलएसको नियमित सिजनको अन्तिम दिन थियो। अब उपाधि प्ले–अफ राउन्डमार्फत तय हुनेछ।
जारी सिजनमा मेसीले २८ खेलमा २९ गोल गरेका छन्। यस उपलब्धिसँगै ३८ वर्षका यो अर्जेन्टिनी सुपरस्टारको हातमा एमएलएस गोल्डेन बुट पुगेको हो।
गोल्डेन बुट जित्ने क्रममा मेसीले एलएएफसीका डेनिस बौआंगा र नाशभिलका साम सुरिजलाई पछि पारे। यी दुईले २४–२४ गोल गरेका थिए।
एमएलएसको एक नियमित सिजनमा मेसीभन्दा बढी गोल कार्लोस भेला (३४ गोल), जोसेफ मार्टिनेज (३१ गोल) र जालटन इब्राहिमोभिच (३० गोल) गरेका छन्।
८ पटकको बालोन डि’ओर विजेता मेसीले यस सिजनमा १९ असिस्ट पनि गरेका छन्। एमएलएसमा एक सिजनमा सबैभन्दा धेरै गोलमा योगदानको कीर्तिमान मेक्सिकन खेलाडी कार्लोस भेलासँग छ। उनले ४९ गोलमा योगदान दिएका थिए। मेसी यस सिजनमा त्यसभन्दा एक कम (४८) योगदानमा पुगेका छन्।
इन्टर मियामीका डिफेन्डर इयान फ्रेले भने,‘यो त स्वाभाविक हो, मेसी हरेक रात हामीलाई अघि बढाउँछन्। उनको वर्णन गर्ने शब्द नै छैन।’
मेसीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामी इस्टर्न कन्फरेन्समा तेस्रो स्थानमा पुगेको छ। यसले क्लबलाई प्ले–अफमा होम एडभान्टेज दिएको छ।
प्ले–अफको पहिलो चरणमा इन्टर मियामीले फेरि नाशभिलकै सामना गर्नेछन्।