युनाइटेडसँग हार्यो लिभरपुल

काठमाडौं। लिभरपुलका मुख्य प्रशिक्षक आर्ने स्लटका लागि अहिले समय उपयुक्त देखिँदैन।
उनको टिम लगातार पराजयको सामना गर्दै आएको छ। इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न हाई–भोल्टेज खेलमा लिभरपुलले आफ्नै घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग २–१ को हार बेहोरेको छ।
लिभरपुलको यो लिगमा लगातार तेस्रो खेलमा हार हो। युनाइटेडले ९ वर्षको पीडादायी प्रतीक्षापछि अन्ततः एन्फिल्डमा जित निकालेको हो। रुवेन अमोरिमको प्रशिक्षणमा युनाइटेडले डिफेन्डिङ च्याम्पियन लिभरपुलमाथि ऐतिहासिक जित हात पार्दा ह्यारी म्याग्वायरको गोल निर्णायक बन्यो।
८४औं मिनेटमा ह्यारीले गरेको हेडर गोलले युनाइटेडका लागि सम्झनलायक जित सुनिश्चित गर्यो। योसँगैले लिभरपुललाई सबै प्रतियोगितामा लगातार चौथो हार चखायो।
मर्सीसाइडमा लामो समयदेखि दु:खद नतिजा खेप्दै आएको युनाइटेडका समर्थकहरू अगाडि गोल सेलिब्रेसन गर्दा म्याग्वायरको उत्साह र राहत स्पष्ट देखिन्थ्यो।
खेलको दोस्रो मिनेटमै ब्रायन म्बुएमोले गरेको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो। तर, ७८औं मिनेटमा कोडी गाक्पोले लिभरपुलका लागि बराबरी गोल गरेपछि खेल बराबरीतर्फ जाँदै थियो। अन्ततः म्याग्वायरको निर्णायक हेडरले खेलको दिशा फेर्यो। योसँगै एन्फिल्डमा युनाइटेडको ९ वर्ष लामो निराशा समाप्त भयो।