कार्यवाहक अध्यक्ष वीरबहादुरले गरे महासचिव राईलाई निलम्बन
-1760878496553.png&w=3840&q=75)
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई निलम्बन गरेका छन्।
एन्फा अध्यक्ष खड्काले आइतबार महासचिव राईले संघको साधारण सभा र कार्यसमितिको निर्णयविपरीत कार्य गरी फुटबल खेलको विकासमा नकारात्मक असर पारेको भन्दै उनीमाथि कारबाही गरेको जानकारी दिएका हुन्।
पत्रमा भनिएको छ,‘संघको विधान, विधि र पद्धति विपरित फुटबल खेलको विकासमा नै दीर्घकालीन असर पार्ने गरि के कति आधारमा कसको निर्देशनमा कार्य गर्नु भएको हो ? भनि तीन दिनभित्र स्पष्टीकरण सोधिएकोमा तपाईँबाट हालसम्म कुनै पनि जवाफ प्राप्त नभएकोले आजको मिति देखि लागू हूने गरि तपाईलाई एन्फा महासचिव पदबाट अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौं।’
राईलाई निलम्बनको अवधिमा कुनै पनि जिम्मेवारी नदिन तथा कार्यसम्पादनमा संलग्न नगराउन निर्देशन दिइएको छ। उक्त अवधिमा महासचिवको जिम्मेवारी सहायक महासचिव दामोदर भट्टराईले सम्हाल्ने उल्लेख गरिएको छ।
एन्फाका कार्यवाहक अध्यक्ष खड्काले उक्त जानकारी संघका सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई समेत उपलब्ध गराएको बताएका छन्।
