अञ्जनको गोलसँगै ब्रदर्सको पहिलो जित

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टको गोलसँगै ब्रदर्स युनियनले बंगलादेश प्रिमियर लिगको उपाधि दावेदार आबाहनी लिमिटेडलाई पराजित गरेको छ।
मुन्सिगञ्जमा आइतबार भएको खेलमा ब्रदर्सले २–१ गोलले हराउँदै सनसनीपूर्ण जित निकालेको हो। यो जितसँगै २ खेलपछि ब्रदर्सको अंक ३ पुगेको छ।
लिगको पहिलो चरणमा गोलरहित बराबरी खेलेको आबाहनीका लागि यो हार ठूलो धक्का बनेको छ। यता, लामो समयपछि शीर्ष क्लबविरुद्ध जित निकाल्दै ब्रदर्सले ऐतिहासिक नतिजा हासिल गरेको हो। पछिल्ला केही सिजनमा आबाहनीविरुद्ध ब्रदर्सले जित निकाल्न सकेको थिएन।
खेलको चौथो मिनेटमै ब्रदर्सले अग्रता लियो। टोलीका नेपाली खेलाडी अञ्जनले कमजोर डिफेन्सलाई सदुपयोग गर्दै बल जालीभित्र पठाए। पहिलो हाफ १–० मा सकियो। दोस्रो हाफमा पनि ब्रदर्सले खेलको नियन्त्रण कायम राख्यो।
मध्य समयमा बक्सभित्र आबाहनीका डिफेन्डरले गरेको फाउलपछि रेफ्री बिटराज बडूवाले पेनाल्टी दिए। उक्त पेनाल्टीलाई सफलतापूर्वक प्रयोग गर्दै ब्रदर्स २–० ले अघि बढ्यो। अन्तिमतिर आबाहनीले गोल फर्काउने प्रयास गर्यो। तर, इन्जुरी समयसम्म कुर्नुपर्यो।
टोलीका सुलैमाना दियाबातेले एक गोल फर्काए पनि ब्रदर्सले जित जोगाउन सफल रह्यो।