क्लब करिअरमा केनको ४००औंं गोल पूरा

काठमाडौं। बायर्न म्युनिखले शनिबार राति बोरुसिया डोर्टमुन्डमाथि जित निकाल्दै बुन्डेसलिगाको शीर्ष स्थानमा पाँच अंकको अग्रता कायम राखेको छ।
यो जितसँगै बायर्नले यो सिजनका पहिलो सातै खेल जित्दै २१ अंकसहित आफ्नो शतप्रतिशत प्रदर्शन निरन्तर राखेको छ। ‘यो ठूलो खेल थियो। डोर्टमुन्ड लामो समयदेखि अपराजित थियो, हामी पनि थियौं,’ बायर्नका स्टार स्ट्राइकर ह्यारी केनले खेलपछि भने,‘हामीलाई निरन्तर जित्दै जानु छ, अहिलेसम्म त्यो राम्रोसँग भइरहेको छ।’
यस हारसँगै डोर्टमुन्ड चौथो स्थानमा झरेको छ। बायर्नभन्दा सात अंकले पछाडि छ। बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पानीले यस खेलमा केनलाई नम्बर १० को भूमिकामा उतारेका थिए। उनले चेल्सीबाट आएका लोन खेलाडी निकोलास ज्याक्सनको पछाडि खेले।
केनले खेलको सुरुआती चरणमै आफ्नो सिर्जनात्मक क्षमता देखाए। उनले लुइस डियाज र माइकल ओलिसेलाई उत्कृष्ट पासहरू दिए, जसले पहिलो १० मिनेटमै दुईवटा सुनौलो अवसर गुमाए।
२१औं मिनेटमा केनले कार्नरबाट हेडर गर्दै गोल गरे र क्लब करिअरको ४००औँ गोल पूरा गरे। यो सिजन उनले सबै प्रतियोगिता मिलाएर ११ खेलमा १९ गोल गरिसकेका छन्, जसमा १२ गोल बुन्डेसलिगामा छन्।
पहिलो हाफमा बायर्नको पूर्ण नियन्त्रण रहे पनि दोस्रो हाफमा डोर्टमुन्डले राम्रो प्रतिक्रिया देखायो। सेरहू गिरासीले बायर्नको गल्ती समातेका थिए र करिम अडेमीलाई गोलका लागि बल पास गरे। तर, अडेमीले शट लिँदै गर्दा चिप्लिए।
खेलको ७९औं मिनेटमा सब्स्टिच्युट जोबे बेलिङहमले आफ्नो बक्समा बल गुमाउँदा माइकल ओलिसेले सजिलै गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए।
केनले खेलपछि बेलिङहमलाई सान्त्वना दिएका थिए। ‘मैले उनलाई भनें तिमी जे गर्दैछौ, गर्दै जाऊ। ऊ निकै प्रतिभाशाली खेलाडी हो,’ केनले भने।
८४औं मिनेटमा डोर्टमुन्डका जुलियन ब्रान्ड्टले जुलियन रायर्सनको क्रसमा खुट्टा छुवाउँदै गोल फर्काए। तर, त्यसपछि उनीहरू बराबरी गोल निकाल्न असफल रहे।
खेलपछि केनले आफ्नो बायर्नसँगको सम्झौता विस्तारबारे पनि टिप्पणी गरे। उनले भने,‘कुनै हतार छैन, तर कुराकानी हुनेछ। म यहाँ निकै खुसी छु, सबै कुरा राम्रोसँग भइरहेको छ।’