फ्लिकले ‘एल क्लासिको’ गुमाउने
-1760806621216.jpg&w=3840&q=75)
काठमाडौं। ला लिगामा शनिबार राति बार्सिलोनाले अन्तिम क्षणमा जित निकाल्दै आगामी एल क्लासिको खेलअघि आत्मबल बढाएको छ।
वैकल्पिक खेलाडी रोनाल्ड अराउजोले इन्जुरी समयमा गरेको निर्णायक गोलले बार्सिलोनालाई जिरोनामाथि २–१ को रोमाञ्चक जित दिलायो। डिफेन्डर अराउजोले स्ट्राइकरझैं प्रदर्शन गर्दै फ्रेन्की डे जोङको लो पासलाई नजिकको पोस्टतर्फ दौडिँदै कुशलतापूर्वक रिडाइरेक्ट गरे र घरेलु दर्शकलाई उत्साहित बनाए।
तर, यो गोल प्रशिक्षक हान्सी फ्लिकलाई मैदानबाहिर पठाइएको दुई मिनेटपछि आएको थियो। रेफ्रीले चार मिनेटमात्र अतिरिक्त समय दिएकोमा असन्तुष्टि जनाएपछि फ्लिकलाई लगातार दुई पहेंलो कार्ड दिएर मैदानबाट बाहिर पठाइएको थियो।
यस कारण फ्लिक आगामी सिजनको पहिलो एल क्लासिको (रियल मड्रिडविरुद्ध) खेलमा टचलाइनमा रहने छैनन्। अन्तर्राष्ट्रिय ब्रेकअघि बार्सिलोनाले लगातार दुई हार बेहोरेको थियो। च्याम्पियन्स लिगमा पेरिस सेन्ट–जर्मेन (पीएसजी)सँग २–१ र ला लिगामा सेभियासँग ४–१ ले पराजित हुन पुग्यो।
खेलको १३औं मिनेटमा पेड्रीले सानदार गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। उनले पासलाई नहेरिकनै नजिकको पोस्टतर्फ पठाउँदै गोल गरे। तर, सात मिनेटमै एक्सेल विट्सेलले जिरोनाका लागि बराबरी गोल फर्काए।
उनले हवाई बललाई बार्सिलोना गोलरक्षक वोइचेक स्जेन्स्नीलाई छक्याउँदै आकर्षक ‘बाइसिकल किक’मार्फत गोल गरे। पहिलो हाफको अन्त्यतिर जिरोनाले लगातार काउन्टर–अट्याक गर्दै खेल नियन्त्रणमा लिएको थियो। तर, स्जेन्स्नीका उत्कृष्ट बचाउ र जिरोनाका खेलाडीहरूको असफल फिनिशिङका कारण अग्रता लिन सकेन।
दोस्रो हाफमा गोलकिपर पाउलो गाजानिगाले फर्मिन लोपेज र मार्कस रासफोर्डका प्रयास रोके। तर, अन्ततः अराउजोले अन्तिम समयमा निर्णायक गोल गर्दै बार्सिलोनालाई जित दिलाए।
बार्सिलोनाले अहिले रोबर्ट लेवान्डोस्की, फेरान टोरेस र डानी ओल्मोजस्ता प्रमुख खेलाडीहरू चोटका कारण गुमाइरहेको छ। प्रशिक्षक फ्लिकले त्यसैले १७ वर्षीय टोनी फर्नान्डेजलाई ला लिगा डेब्यू अवसर दिएका थिए। उनलाई दोस्रो हाफमा फर्मिनसँग प्रतिस्थापन गरिएको थियो।
यस जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ। उसले २१ अंक रहेको रियल मड्रिडभन्दा एक अंकको अग्रता बनाएको छ। रियलले आइतबार गेटाफेविरुद्ध खेल्नेछ।