मुस्किल जित निकाल्दै बार्सिलोना उक्लियो शीर्षस्थानमा

काठमाडौं। रोनाल्ड अराउजोको निर्णायक गोलसँगै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार सम्पन्न खेलमा बार्सिलोनाले जिरोनालाई २–१ ले पराजित गरेको हो।
बार्सिलोनाको जितमा आउजाबाहेक पेड्रीले एक गोल थपे। जिरोनाका लागि एक मात्रै गोल एक्सेल विट्सेलले गरेका हुन्।
जितसँगै शीर्ष स्थानमा उक्लिएको बार्सिलोनाले ९ खेलबाट २१ अंक पुर्याएको छ। एक खेल कम खेलेको रियल मड्रिडको २१ अंक छ।
९ खेलबाट ६ अंक मात्रै रहेको जिरोना रेलिगेसन जोनमा छ। खेलको छैटौं मिनेटमै पेड्रीले घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।
उनले लामिन यमलको पासलाई सदुपयोग गरेका हुन्। तर, ७ मिनेट पछि नै विट्सेलले खेल बराबरी गरे।
दोस्रो हाफको इन्जुरी समयमा बार्सिलोनाका मुख्य प्रशिक्षक हेन्सी फ्लिकले दोहोरो पहेंलोसहित रातो कार्ड पाए। त्यसको दुई मिनेटपछि नै रोनाल्डले अर्को गोल गर्दै बराबरी उन्मुख खेललाई २–१ ले जिताए।
उनले डच फुटबलर फ्रेन्की डी जोङको क्रसमा गोल गरेका हुन्। जोङले बिहीबार मात्रै सन् २०२९ सम्म बार्सिलोनामै रहनेगरी सम्झौता नविकरण गरेका थिए।