बार्सिलोनाको खेल अमेरिकामा गर्ने निर्णयको विरोध

काठमाडौं। बार्सिलोनाको खेल अमेरिकाको मियामीमा आयोजना गर्ने निर्णयपछि स्पेनिस फुटबलमा ठूलो विवाद उत्पन्न भएको छ।
ला लिगाले २० डिसेम्बरमा बार्सिलोना र भिल्लारियलबीचको लिग खेल अमेरिकाको मियामीमा गर्ने निर्णय गरेपछि खेलाडीहरू र संघबीच असन्तुष्टि चुलिएको हो।
ला लिगाको यो कदमलाई लिगका खेलाडीहरूले राम्रोसँग लिएका छैनन्। उनीहरूको भनाइअनुसार यति ठूलो निर्णय कुनै छलफल बिना नै लिइएको हो।
पछिल्ला दुई महिनादेखि विभिन्न टिमका कप्तानहरूले जानकारी माग्दा पनि ला लिगा प्रशासनले मौनता साधेको खेलाडी संघ (एएफई) ले जनाएको छ।
यो निर्णयको विरोधस्वरूप शुक्रबार रियल ओभिएदो र एस्पान्योलबीचको खेलमा पहिलोपटक खेलाडीहरूले मैदानमै प्रत्यक्ष प्रदर्शन गरे। खेल सुरु भएको केही क्षणमै दुवै टिमका खेलाडीहरूले १५ सेकेन्ड खेल रोकेर मौन विरोध जनाए।
यद्यपि टेलिभिजनमा खेलको पहिलो २५ सेकेन्ड प्रसारण नगरिएकाले त्यो दृश्य दर्शकले प्रत्यक्ष हेर्न पाएनन्।
स्पेनिस फुटबलर संघ (एएफई) का अनुसार यो प्रतीकात्मक विरोध ला लिगाको नवौं चरणका सबै खेलहरूमा दोहोरिने छ। उनीहरूले यसरी विरोध जनाएर लिग प्रशासनको निर्णयमा पारदर्शिता अभाव, छलफलको कमी र नीतिगत कमजोरीको विषय उजागर गर्न चाहेका हुन्।
एएफईले एक वक्तव्यमा भनेको छ,‘खेलाडीहरूले प्रतीकात्मक ढंगले विरोध जनाउनेछन्, ताकि अमेरिकामा खेल आयोजना गर्ने निर्णयमा पारदर्शिता र संवादको कमी स्पष्ट देखियोस्।’
संघका अनुसार ला लिगाका सबै २० टिमका कप्तानहरू यो विरोधमा सहमत भएका छन्।
तर, बार्सिलोना र भिल्लारियलका खेलाडीहरूलाई प्रत्यक्ष मैदानमा विरोधमा सहभागी हुन भने सुझाव दिइएको छैन। यद्यपि, उनीहरू पनि एएफईको उद्देश्यसँग सहमत रहेको बताइएको छ।
बार्सिलोनाका मुख्य प्रशिक्षक ह्यान्सी फ्लिकले भने लिग प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले पत्रकार सम्मेलनमा भने, ‘७२०० किलोमिटर यात्रा गरेर एउटा लिग खेल खेल्न जानु कुनै अर्थ राख्दैन। यो निर्णय व्यावहारिक छैन।’
तर, क्लबका अध्यक्ष जोआन लापोर्ता भने यस मुद्दामा फरक मतमा छन्। उनले भनेका छन्,‘अमेरिकाको विशाल खेल बजारमा बार्सिलोनाको ब्रान्ड फैलाउने यो एक ठूलो अवसर हो।’
ला लिगा र खेलाडी संघबीचको यो विवादले स्पेनिस फुटबलमा फेरि एकपटक अन्तरिक तनाव र स्वार्थको टकराव उजागर गरेको छ।