यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने !

काठमाडौं। फेरि एकपटक ‘ए’ डिभिजन लिग नहुने निश्चित भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्ष पनि देशको शीर्ष क्लब प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो।
एन्फाले अन्तिमपटक २०८० साल जेठमा ‘ए’ डिभिजन लिग सम्पन्न गरेको थियो। उक्त संस्करणमा चर्च ब्वाइज युनाइटेडले उपाधि उठाएको थियो।
त्यसयता नयाँ सिजनको लिग आयोजना हुन सकेको छैन। केही दिनअघि मात्र एन्फाले पुस ९ गतेदेखि लिग सुरु गर्ने भन्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको थियो। तर, सोमबार एन्फा लिग नगर्ने निर्णयमा पुगेको हो।
‘योपल्ट लिग नहुने भएको छ,’ एन्फाका एक पदाधिकारीले खेलपाटीसँग भने,‘त्यसैको जानकारी दिनका लागि मंगलबार दिउँसो साढे ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन बोलाइएको छ।’
शीर्ष डिभिजनको लिग स्थगित भएसँगै एन्फाले त्यसको सट्टा परम्परागत राष्ट्रिय लिग अघि बढाउने तयारी गरेको छ। ती पदाधिकारीका अनुसार उक्त प्रतियोगिता करिब एक महिनासम्म चल्नेछ। तर, मिति भने अझै घोषणा गरिएको छैन।