चेल्सीसँग हारेको २० मिनेटमै नटिङ्घम फरेस्टको प्रशिक्षक बर्खास्त
-1760802784227.webp&w=3840&q=75)
काठमाडौं। प्रिमियर लिगमा चेल्सीसँग पराजित भएको झन्डै २० मिनेटमै नटिङ्घम फरेस्टले आफ्ना मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लूलाई बर्खास्त गरेको छ। शनिबार चेल्सीसँग ३–० को हार बेहोरेपछि क्लबले उनलाई पदमुक्त गरेको घोषणा गरेको हो।
सेप्टेम्बर ९ मा नुनो एस्पिरिटो सान्टोको स्थानमा टोलीको जिम्मेवारी सम्हालेका पोस्टेकोग्लूले लगातार आठ खेलमा पनि जित निकाल्न सकेनन्। फरेस्टले जारी गरेको ३९ शब्दको विज्ञप्तिमा लेखिएको छ,‘निराशाजनक नतिजा र प्रदर्शनका कारण पोस्टेकोग्लूलाई तत्काल मुख्य प्रशिक्षक पदबाट मुक्त गरिएको छ।’
ब्रिटिश सञ्चारमाध्यमहरूले पहिले नै बर्नली र एभर्टन पूर्वप्रशिक्षक सिन डाइचलाई सम्भावित उत्तराधिकारीको रूपमा चर्चा गरिरहेका थिए। पोस्टेकोग्लूको कार्यकाल ३९ दिनमै समाप्त भएको हो।
खेलमा चेल्सीका जोश एचेएम्पोङ, पेड्रो नेटो र रिस जेम्सले गोल गरेका थिए। दोस्रो हाफको सुरुआतमै एचेएम्पोङले नेटोको क्रसमा हेडर गर्दै पहिलो गोल गरे। केही मिनेटमै नेटोले फ्रिकिकबाट अर्को गोल थपे। त्यसपछि ८४औं मिनेटमा रिस जेम्सले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे।
फरेस्टका समर्थकहरूले घरेलु मैदान सिटी ग्राउन्डमा ठूलो आवाजमा हूइयाँ गरे। चेल्सीका समर्थकहरूले पोस्टेकोग्लूलाई जिस्क्याउँदै ‘यू आर गेटिङ स्याक्ड इन द मोर्निङ’ भन्दै गीत गाए।
गत केही हप्तादेखि पोस्टेकोग्लू आत्मविश्वासी मुद्रामा देखिँदै आएका थिए। उनले शुक्रबार मात्र पत्रकार सम्मेलनमा आफूलाई ‘असफल प्रशिक्षक’ भन्नेलाई जवाफ दिँदै फरेस्टमा पनि ट्रफी जित्ने वाचा गरेका थिए।
तर, उनको टोलीले आठ खेलमा ६ हार र दुई बराबरीको नतिजा मात्र निकाल्यो। प्रिमियर लिगका पाँचमध्ये ४ खेल हार्दै फरेस्टले एउटा गोल गर्न सकेको छ, जसले टोलीलाई रेलिगेसन क्षेत्रनजिक पुर्याएको छ।
खेलको अन्त्यतिर चेल्सीका राइट ब्याक मालो गुस्टो दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट निकालिए।