मेसीले भन्दा बढी पेनाल्टी ‘मिस’ गर्छन् रोनाल्डो !
Title

काठमाडौं। पोर्चुगलका भेट्रान स्टाइकर क्रिस्टियानो रोनाल्डोले इतिहास बनाउन मौका पाए पनि पेनाल्टीमा गोल गर्न सकेनन्। आयरल्यान्डसँगको विश्वकप छनोट खेलमा उनले पेनाल्टी मिस गरे।
योसँगै धेरैलाई सन् २०२५ मा अर्जेन्टिनी कप्तान लिओनेल मेसीसँगको तुलना गर्न बाध्य बनायो। रोनाल्डोको प्रयास आयरल्यान्डका गोलरक्षक काओइभिन केलेहरले विफल बनाए। यो उनको यस वर्षको तेस्रो पेनाल्टी मिस हो।
यसका विपरीत मेसीले सन् २०२५ मा एक मात्र पेनाल्टी मिस गरेका छन्। साउदी क्लब अल– नसारका कप्तानसमेत रहेका रोनाल्डोले यसअघि साउदी प्रो-लिगमा रेद ओजायबीविरुद्ध २–० जितमा पेनाल्टीमा गोल गर्न असफल भएका थिए।
युइएफए नेसन्स लिगमा डेनमार्कविरुद्धको ५–२ जितमा पनि गोल गर्न सकेनन्। मेसीको एक मात्र पेनाल्टी मिस भने इन्टर मियामीको चार्लट एफसीविरुद्धको ३–० हारमा भएको थियो।
यस वर्ष मेसीले तीनमध्ये दुई पेनाल्टीमा सफलतापूर्वक गोल गरेका छन्। रोनाल्डोले ११ पेनाल्टीमध्ये ८ मा गोल गरेका छन्।