‘मल्टिगोल’ खेलका खेलाडी मेसी
-1758769296892.webp&w=3840&q=75)
काठमाडौं। लिओनल मेसीले दुई गोल र एक असिस्ट गर्दै यस सिजनमा आफ्नो गोल योगदान संख्या ३७ पुर्याएका छन्। योसँगै इन्टर मियामीले बिहीबार राति न्यूयोर्क सिटी एफसीलाई ४–० ले हराउँदै एमएलएस प्लेअफमा स्थान पक्का गरेको छ।
मियामीले लगातार तेस्रो जित निकालेको हो। यस सिजन क्लबको कुल गोल संख्या ६४ पुगेको छ, जुन लिगमै सबैभन्दा बढी हो। पछिल्ला छैटौं खेलमध्ये पाँचमा कम्तिमा तीन गोल भएका छन्। अघिल्लो खेलमा मियामीले डीसी युनाइटेडलाई ३–२ ले हराएको थियो।
पहिलो हाफमै असिस्ट दिएपछि मेसी एमएलएस इतिहासमा लगातार दुई सिजनमा ३५ भन्दा बढी गोलमा योगदान गर्ने पहिलो खेलाडी बने। दोस्रो हाफमा दुई गोल थपेपछि उनी एकै सिजनमा आठवटा ‘मल्टिगोल’ खेल खेलेका चौथो खेलाडीसमेत बने।
७४औं मिनेटमा गोलकिपर म्याट फ्रिजलाई छलाउँदै मेसीले बल नेटमा पठाउँदै अग्रता २–० बनाए। निलम्बनपछि फर्केका लुइस सुआरेजले ८३औं मिनेटमा पेनाल्टीमा गोल गरे। त्यसको तीन मिनेटपछि मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरे।
गोलकिपर ओस्कार उस्तारीले यस सिजनको छैटौं ‘क्लिनसिट’ हासिल गरे। न्यूयोर्क सिटीको तीन खेलको जित यात्रा यस हारसँगै टुंगियो। पहिलो हाफमा न्यूयोर्क सिटीका दुई उत्कृष्ट अवसर सदुपयोग हुन सकेन।
थियागो मार्टिन्सले कर्नर किकमा नजिकैबाट हेडर गरे तर बल सीधै आकाशतिर गयो। त्यस्तै, निकोलास फर्नान्डेजले पेनाल्टी क्षेत्रमा डिफेन्डरलाई छल्दै गोलकिपरलाई अर्को दिशामा ढाल्न सफल भए पनि उनको प्रहार पोस्ट बाहिर पुग्यो।