४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

काठमाडौं। सन् २०२२ विश्वकपको क्वार्टरफाइनलमा बाहिरिएपछि अनुभवी डिफेन्डर थियागो सिल्भालाई फेरि ब्राजिली राष्ट्रिय फुटबल टोलीमा देखिएको छैन। अहिले उनको उमेर ४० नाघिसकेको छ। त्यसैले धेरैले उनको अन्तर्राष्ट्रिय करिअर सकिएको ठानेका छन्।
तर, ब्राजिलको मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टी भएका कारण परिस्थिति बदलिएको छ। एन्सेलोट्टीका अनुसार टोलीमा छानिनका लागि मुख्य कुरा प्रदर्शन र फिटनेस हो। त्यसैले उनले सिल्भाबारे आशावादी सन्देश दिएका छन्।
ब्राजिलको राष्ट्रिय टोलीका लागि ११३ खेल खेलेका सेन्टरब्याक सिल्भा हाल युरोपेली फुटबल छोडेर आफ्नै बाल्यकालको क्लब फ्लुमिनेनसेका लागि खेलिरहेका छन्। २०२४ मा इङ्लिस चेल्सीसँगको सम्झौता सकिएपछि उनी त्यहाँ फर्किएका हुन्।
गत जुनमा फ्लुमिनेनसेलाई क्लब विश्वकपको सेमिफाइनलसम्म पुर्याउँदा ४० वर्षे सिल्भाले उत्कृष्ट प्रदर्शन देखाएका थिए। कप्तानका रूपमा टोलीलाई नेतृत्व दिँदै पुनः चर्चामा आएका उनी फेरि राष्ट्रिय टोलीतिर नजिकिएका छन्।
एन्सेलोट्टीसँग उनको सम्बन्ध पुरानै हो। यसअघि इटालियन क्लब एसी मिलान र फ्रान्सेली जायन्ट पेरिस सेन्ट–जर्मेन (पिएसजी)मा उनी प्रशिक्षक एन्सेलोट्टीको प्रशिक्षणमा खेलिसकेका थिए। यही चिनजान र मैदानमा अझै नथाक्ने मानसिकताले दुवैलाई नजिक ल्याएको हो।
हालै दुवैबीच कुरा भएको छ र त्यसपछि इटालियन प्रशिक्षकले फ्लुमिनेनसे स्टारलाई राष्ट्रिय टोलीमा पाए खुसी हुने बताएका छन्। साथै, क्लब स्तरको प्रदर्शनलाई निरन्तरता दिन सल्लाह पनि दिएका छन्।
एन्सेलोट्टीले किन सिल्भालाई टोलीमा देख्न चाहन्छन् भन्ने व्याख्यामा उदाहरणसमेत दिएका छन्। उनका अनुसार गत सिजनपछि लुका मोड्रिचले रियल मड्रिड छाडेर एसी मिलानमा फर्किँदा उनी ४० वर्षकै थिए। त्यस्तै, सन् २००७ मा एन्सेलोट्टीले च्याम्पियन्स लिग जित्दा एसी मिलानका कप्तान पाउलो माल्दिनी पनि ४० वर्षकै थिए।
एन्सेलोट्टी भन्छन्, ‘थियागो सिल्भालाई म राम्ररी चिन्छु। मैले नै उनलाई एसी मिलान र पिएसजीमा ल्याएको हुँ। १० दिन अघि मात्र उनीसँग कुरा भएको थियो। उनलाई राष्ट्रिय टोलीमा बोलाउन मलाई पासपोर्ट वा उमेर हेर्नु पर्दैन। अरुभन्दा राम्रो खेले भने उनलाई लिन किन समस्या हुनुपर्यो र?’
उनको भनाइ सुनेर अब चाँडै नै सिल्भालाई फेरि ब्राजिलको पहेँलो जर्सीमा देख्ने आशा गर्न सकिन्छ। यसबीच, दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मोबेल) को विश्वकप छनोटमा ब्राजिल पाँचौं स्थानमा रह्यो, जुन उनीहरूको इतिहासकै कमजोर प्रदर्शन हो।
तर, एन्सेलोट्टीको उपस्थितिले टोलीलाई फेरि व्यवस्थित बनाउन सक्ने अपेक्षा छ। आगामी अक्टोबरमा जापान र दक्षिण कोरियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने ब्राजिलको एसिया यात्रा हुनेछ। त्यतिबेला सिल्भा एन्सेलोट्टीको स्क्वाडमा पर्छन् कि पर्दैनन्, अब हेर्न बाँकी छ।